मालपोत र नापी कार्यालय सोलुखुम्बुको सेवा प्रभावकारी नभएको गुनासो

  सोनाम याङ्जी शेर्पा

सोलुखुम्बु : जिल्ला मालपोत र नापी कार्यालय सोलुखुम्बुले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । सेवाप्रवाहको शैलि असहज तथा अत्याधिक ढिलासुस्ती रहेको छिण्डि ल्हमु शेर्पाले गुनासो गर्नुभयो ।

कार्यालयमा सबैभन्दा बढी नामसारी सम्बन्धी समस्या रहेको लेखापढी व्यवसायीको भनाई छ । असोज २१ गते कर्यालयमा नामसारीको लागि निवेदन दिएको र कागजात पुरा भएपनि अझै सम्म काम नभएको सेवाग्राही दावा तामाङले गुनासो गर्नुभयो । महिनौ भएपनि सेवा नपाउँदा दुःख लागेको तामाङको भनाई छ । प्रविधिको युगमापनि नागरिकले सास्ती खेप्नु दुःखद भएको उहाँको भनाई छ ।

नामसारीका लागि कर्मचारी नभएकै कारण समस्या भएको बुझिएको छ । यता मालपोतका प्रमुख सूर्यप्रसाद कोइरलाले नामसारी बाहेकका काममा हस्ताक्षर नगर्ने हुँदा अन्य कर्मचारीलाई कामको बोझ थपिएको लेखापढी व्यवसायीको भनाई छ । विगतको दिनमा एक दिनमा सकिने काम समेत अहिले ३ दिन सम्म लाग्ने गरेको नागरिकको गुनासो छ ।

यस्तै एक हप्ता अगाडी श्रीमानको नामबाट जग्गा नामसारीको लागि कार्यालयमा निवेदन दिएको भएपनि अहिले सम्म काम नभएको शारदा कटुवालले गुनासो गर्नुभयो । अहिले मालपोत अधिकृत खुम्बु क्षेत्र गएपछि नामसारी सम्बन्धि काम ठप्प बनेको हो ।

कार्यालयमा सेवा प्रवाह गर्ने ठाउँ देखि नागरिक बडापत्रमा समेत ध्यान नदिदा समस्या भएको लेखापढी व्यवसायी कुन्जाङ शेर्पाले बताउँनुभयो । शेर्पाले भन्नुभयो, “मालपोतको हाकीम साब दुईवटा कम्प्युटर राखेर बस्नुहुन्छ, उहाँले एउटामा शेयर कारोवार गरिरहनुुहन्छ तर कार्यालयको कम्प्युटर चाँही सधै बन्द हुन्छ ।”

कोरोनाको कारण देखाउँदै सेवाग्राहीलाई कार्यालय भित्र प्रवेश निशेध गरेपछि असहजीलो ढंगले सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राही छिण्डिल्हमु शेर्पाले बताउँनुभयो ।

“कुलासोमा बसेर सेवा लिनुपर्ने, सेवाग्राही लाईन लाग्ने ठाउँपनि छैन, होचो मान्छेले त कर्मचारी छन् कि छैनन् भन्ने पनि देख्न मुस्कील पर्ने रहेछ, उता नापीको हालत पनि उस्तै रहेछ ।” काँग्रेस जिल्ला नेता समेत रहनुभएका शेर्पाले भन्नुभयो,“यहि बिषयलाई लिएर जिल्ला प्रशासनमा गएर सिडिओको ध्यानकर्षण समेत गराएका छौ, केहि दिन सम्म सेवा प्रवाह सहज भएन भने तालाबन्दी गर्ने भन्ने सम्म हाम्रो सभापति ज्यू संग छलफल भएको छ ।”
कोरोनाको जोखीम बढेपछि सेवाग्राहीलाई कार्यालय प्रवेशमा निषेध गरिएको छ । जिल्ला मालपोत र नापी दुवै कार्यालयले सेवाग्राही प्रवेशमा निषेध गरेका छन् । तर पहुँच वालाहरु भने प्रवेश गरेर सेवा लिने गरेको पाइएको सेवाग्राही भिमबहादुर कटुवालको भनाई छ ।

सेवाग्राहीको अत्याधिक गुनासो पछि नेपाल लेखापढी कानून व्यवसायी जिल्ला समिति सोलुखुम्बुले शुक्रबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भएपनि कर्मचारीको उपस्थिति नभएको समितिका अध्यक्ष आङजाङबु शेर्पाले बताउँनुभयो । अध्यक्ष शेर्पाले मालपोत र नापी कार्यालयका कर्मचारीको व्यवहारले गर्दा सेवा ग्राहीले सास्ती खेप्नुपरेको दावी गर्नुभयो ।

कतिपय अवस्थामा अबेर सम्म सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीले व्यवसायी र सेवाग्राही हेरेर सेवा प्रवाह गर्ने गरेको गुनासो पनि बढेको छ । कार्यालय प्रमुख लामो समय सम्म कार्यालयमा नबस्ने हुँदा अधिकांश समस्या सृजना भएको कार्यलयका कर्मचारीकै गुनासो छ ।

यता नापी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी सिकेस कोइरलाले अनलाईन प्रणाली भएका कारण सेवा प्रवाहमा केही ढिला सुस्ती भएको स्वीकार गर्नुभयो भने मालपोत अधिकृतसंग सम्पर्क हुन सकेन । मालपोत अधिकृत केही दिन अघि खुम्बु क्षेत्र गएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार