सोलुखुम्बु : कोरोना महामारीका बेला क्याम्पसले शूल्क बृद्धि गर्ने सम्बन्धि गरेको निर्णय फिर्ता लिनुपर्ने माग राखेका विद्यार्थीले क्याम्पसमा तालाबन्दि गर्ने बताएका छन् । गत मंगलबार क्याम्पस प्रमुखलाई ध्यानकर्षण पत्र बुझाएका विद्यार्थीले आज जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा समेत जानकारी पत्र बुझाएका छन् ।
उनीहरुले आर्थिक संकट निम्तिएको बेला शूल्क बृद्धि गर्न नहुने भन्दै साविकको शूल्कमा समेत छुट दिनुपर्ने माग राखेका छन् । कोरोनाका कारण रोजगारी गुमेपछि विद्यार्थीले शूल्क तीर्न नसक्ने र आफुहरुको माग सम्बन्धमा क्याम्पसले समेत चासो नदिएपछि प्रशासन गुहार्नुपरेको विद्यार्थी रमेश खड्काले बताउँनुभयो । अधिकांश विद्यार्थी रोजगारी संगै अध्ययन गर्ने भएकाले कोभिड १९ का कारण आर्थिक संकटमा परेको उहाँको भनाई छ । उनीहरुले मंसिर २० गते क्याम्पसमा धर्ना दिने, तालाबन्दि गर्ने देखि परीक्षा समेत बहिस्कार गर्ने सम्मको कार्यक्रम रहेको बताएका छन् ।
जानकारी पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले सहमती र समझदारीको आधारमा अघि बढ्न सुझाव दिनुभयो । उहाँले तोडफोड तथा तालाबन्दि गर्ने अवस्था भएमा त्यसको विरुद्धमा प्रशासन उत्रने भन्दै क्याम्पस सञ्चालक समिति संग थप छलफल गर्न आग्रह गर्नुभयो । साथै उहाँले हाल उत्पन्न समस्या समाधानका लागि आफुले समन्वयकारी भुमिका निर्वाह गर्ने आश्वसन पनि दिनुभयो ।
मंसिर २८ गते देखि स्नातक तह चौथो बर्षको परीक्षा सञ्चालन हुँदैछ । उक्त परीक्षामा सहभागी हुँदा थप भएको शूल्क सहित मासिक रु.१८०० बुझाउनुपर्ने भएपछि विद्यार्थीले क्याम्पसको निर्णय सच्याउन माग गरेका हुन् । यता क्याम्पस प्रमुख उद्धव कुमार शर्माले भने कोरोनाका कारण क्याम्पसमा समेत समस्या भएपछि शूल्क वृद्धि भएको बताउँनुभयो । उहाँले सहमतीकै आधारमा अगाडी बढ्नका लागि सञ्चालक समितिको बैठक बस्ने र थप निर्णय गर्ने समेत बताउँनुभएको छ ।