बहु प्राविधिक शिक्षा सञ्चालन गर्ने थुलुङदुधकोशी पहिलो : मुख्य मन्त्री राई

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको आज (आईतबार) एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । यसै बर्ष देखि सञ्चालनमा आएको उक्त शिक्षालयको प्रदेश १ का मुख्य मन्त्री सेरधन राईले उद्घाटन गुर्नभएको हो ।

उद्घाटन समारोहलाई संबोधन गर्दै मुख्य मन्त्री राईले प्रदेश सरकारले प्राविधिक र व्यवहारीक शिक्षामा जोड दिदै दक्ष जनशक्ति उत्पादनमा आफुहरु केन्द्रित भएको बताउँनुभयो । सोही अनुसार प्रदेश १ मा छनौट भएका ५ वटा जिल्ला मध्ये कतिपय जिल्लामा जग्गा समेत व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा थुलुङदुधकोशी गाउँपालिकाले उद्घाटन गरि कक्षा सञ्चालन गर्नु आफैमा प्रशंसायोग्य कार्य भएको मन्त्री राईले बताउँनुभयो ।

सोलुखुम्बुबासीले सही नेतृत्व छनौट गर्न सफल भएकालेनै आज गाउँगाउँमा सडक, विद्युत, प्राविधिक शिक्षा तथा अस्पताल निर्माण भईरहेको भन्दै मुख्य मन्त्री राईले थुलुङदुधकोशीलाई नगरपालिका बनाउने आधारभुत मापदण्ड पुरा गर्नको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै आन्तरीक योजना तथा अर्थ मन्त्री इन्द्र आङ्बोले गाउँपालिकामा भईरहेको बिकास निर्माणको प्रशंसा गर्नुभयो । थुलुङदुधकोशी गाउँपालिकाले सामाजिक सुरक्षा र भौतिक पुर्वधार निर्माणमा गरेको कार्य मननयोग्य रहेको भन्दै अन्य स्थानीय सरकारले समेत अनुसरण गरि व्यवहारमा प्रयोग गर्नुपर्ने बताउँनुभयो ।

यस्तै सोलुखुम्बु जिल्लाका प्रतिनिधी सभा सदस्य हेमकुमार राई (शुरवीर)ले जिल्लाको बृहतर बिकासमा आफुहरु केन्द्रित भएको बताउँनभुयो । शिक्षा स्वास्थ्य, सडक र सञ्चारलाई प्रमुख प्राथमीकतामा राखेर जिल्लामा काम भईरहेको भन्दै सहयोगको लागि आग्रह गर्नुभयो ।

नेकपा प्रदेश एक संसदीय दलका प्रमुख सचेतक एवम् सांसद बुद्धिकुमार राजभण्डारीले बुह प्राविधिक शिक्षालय थुलुङ दुधकोशी गाउँपालिका र सोलुखुम्बुको लागि मात्र नभई छिमेकी जिल्ला खोटाङ र ओखलढुंगा सहितका लागि पनि महत्वपुर्ण रहेको बताउँनुभयो । काँग्रेस सरकारको पालामा नभएका तर अति महत्वपुर्ण बिकासका कार्यक्रम नेकपाले गरिरहेको भन्दै नेले देखि गाउँपालिका केन्द्र सम्मको सडक कालोपत्रेका लागि तत्काल कार्य अगाडी बढाउन माग गर्नुभयो ।

प्रदेश सांसद उत्तम कुमार बस्नेतले अधिकांश बिकासमा सडक बाधक बनेको भन्दै अन्तर जिल्ला जोड्ने सडकमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउँनुभयो ।

गाउँपालिका अध्यक्ष असिम राईले गाउँपलिकाले अघि सारेको दिगो बिकासको योजना सुनाउँदै थप सहयोगका लागि आग्रह गरेका थिए । संघीयताको मर्म र भावना अनुसार आफुहरु दिनरात खटिरहेको भन्दै अध्यक्ष राईले सबैको सहयोग अपरिहार्य रहेको बताउँनुभयो ।

कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, जिल्ला समन्वय समितिका प्रमुख बीरकुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, सोलुदुधकुण्ड नगरपाकिला उपमेयर कल्पना राईले बहुप्राविधिक शिक्षालयको महत्वको चर्चा गर्दै शुभकाना व्यक्त गर्नुभयो । जसले गर्दा थुलुङदुधकोशीको मात्र नभई सिंगो जिल्लाको बिकास र सम्बृद्धिमा महत्वपुर्ण टेवा पुग्ने उनीहरुको विश्वास छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार