नेपालमा दुई प्रतिशत जनसंख्यालाई कोरोना संक्रमण हुनसक्ने सरकारको अनुमान

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइएपनि संक्रमण नियन्त्रण्मा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताउनुभयो ।

‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले यस्तो बताउनु भएको हो । पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशत सम्म संक्रमण हुने अनुमान सरकारले गरेको पनि मन्त्री ढकालले बताउनुभयो ।

अवको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान पनि सरकारले गरेको उहाँले बताउनुभयो । सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरुको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दावी गर्नुभयो । सामथ्र्य अनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उहाँको भनाई छ ।

कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताउनुभयो । उहाँले अहिले पनि कुल सक्रिय संक्रमितहरु मध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पस्ट हुने बताउनुभयो ।

सरकारले अस्पतालहरुमा अक्सिजन सहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको उहाँको भनाई छ । यस्तै विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरुलाई पनि भ्याक्सिन दिलाउन सकियोस भन्ने तर्फ सरकारले ध्यान केन्द्रीत गरी काम गरिरहेको पनि मन्त्री ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार