काठमाडौं:विश्व मधुमेह दिवसका अवशरमा काठमाडौं महानगरपालिकाले नेपाल मधुमेही समाजलाई भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
विपन्न मधुमेहीहरुलाई उपचार र परीक्षण लगायतका सम्पूर्ण सेवाहरु निःशुल्क प्रदान गर्दै आएको मधुमेही समाजलाई महानगरपालिकाले भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको हो । दिवसका अवशरमा आज आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले राज्यले सेवा दिनुपर्ने वर्गलाई लक्षीत गरि सेवा प्रदान गर्नेगरी भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने बताउनुभयो ।
महानगरपालिकाले विभिन्न सरकारी अस्पतालहरुलाई सहयोग गर्दै आइरहेको स्मरण गराउँदै आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत जनताको सेवाका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । दिवसका अवशरमा १५ जना विशेषज्ञ चिकित्सकहरुबाट लिखित ‘मधुमेह’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
यस्तै मधुमेह रोग सम्बन्धि ससाखः कका नामक लघु चलचित्र पनि प्रदर्शन गरिएको छ । नेपाल मधुमेही समाजका अध्यक्ष शिव श्रेष्ठले कोभिडबाट मधुमेहबाट पीडित व्यक्तिहरु बढी प्रभावित भएकाले नियमित रुपमा मधुमेह सम्बन्ध् विशेषज्ञा चिकित्सकको व्यवस्था गर्न महानगरसँग आग्रह गर्नुभयो ।
वरिष्ठ मुटुरोग विशेषज्ञा डा. प्रकाशराज रेग्मीले मधुमेहको उपचार भनेर सुगर नियन्त्रण मात्रै हो भन्ने सोच परिवर्तन गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले नसर्ने रोग भएपनि कोरोना महामारी भन्दा मधुमेह रोग बढी खतरनाक भएको बताउनुभयो । नेपाल मधुमेही समाजले अहिले विशेषज्ञहरुबाट मधुमेह, ग्रन्थी, थाइरोइड, मुटु, आँखा, हाड जोनी तथा इसिजी, इको लगायतका सेवाहरु न्यून शुल्कमा उपलब्ध गराउँदै आएको छ ।