काठमाडौं: सत्तारुढ नेकपाभित्रको विवाद फेरि चरमोत्कर्षमा पुगेको छ । नेकपाभित्र विभाजनका लागि तयार रहन अध्यक्षको तहमै विवाद उठेपछि सोहीअनुसार विभिन्न तयारी भइरहेका छन् ।
प्रधानमन्त्रीले नयाँ पार्टी गठनको तयारी गरेको र त्यसको संरचनासमेत तय भइरहेको कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भनाइ छ । ओली पक्षले भने प्रचण्ड–नेपाल पक्षले संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउनेसम्मको तयारी भइरहेको दाबी गरिरहेका छन् । दुबै पक्षले आरोपको खण्डन गरेका छन् ।
पार्टी विवाद उत्कर्षमा पुगेका बेला फुटको पक्षमा नलाग्ने भन्दै नेकपाका सांसदहरूले फेरि अभियान चलाउने भएका छन् । दबाब दिनेमा ओली, प्रचण्ड र नेपाल तीन वटै पक्षका सांसद छन् । बारम्बार विवाद दोहोरिँदा जनता र कार्यकर्तामा पार्टीप्रति निराशा पैदा भएको सांसद र नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद दाहालले बताउनुभयो ।