सोलुका मेयर भन्छन्, कोरोना परीक्षणको दायरा बढाइन्छ, तर स्थानीय भन्छन् पैसा तिर्छु भन्दा पनि स्वाब संकलन भएन

गाउँपालिका प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य

सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिकाले कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार गर्ने भएको छ । नगरपालिकाको समुदाय स्तरमै कोरोना फैलिएको पुष्टि भएसँगै संक्रमितको उपचार नगरपालिकाले गर्ने मेयर नाम्गेल जाङबु शेर्पाले बताउँनुभयो ।

वडाअध्यक्ष देखि स्वास्थ्यकर्मी, कर्मचारी र व्यवसायी समेत संक्रमित भेटिएपछि बजार शिल गरेर थप रणनीतिका साथ काम गर्नुपर्ने स्थानीयको माग भएपनि मेयर शेर्पाले भने परीक्षणको दायरा बढाउने तर बजार क्षेत्रलाई सिल नगर्ने बताउँनुभयो । नगरबासीको उपचार निःशुल्क गर्ने तर बजार बन्द नगराउने नीति लिएको उहाँको भनाई छ । यता सर्वसाधरण नागरिकले भने नगरपालिकाले स्थानीय नागरिकको स्वास्थ्य माथि खेलवार्ड गरिरहेको आरोप लगाएका छन् ।

स्थानीय डुण्डिराज घिमिरेले कार्यापालिका बैठक बसेर थप योजना बनाउनुपर्ने नगरपालिकाले समुदाय स्तरमा कोरोना संक्रमण देखिएपनि मौन बसेको बताउँनुभयो । स्वाब परीक्षणलाई फराकीलो बनाउने मेयर शेर्पाले दावी गरिरहँदा स्थानीयले भने रकम खर्च गरेर परीक्षण गराउन समेत पाएका छैनन् । स्थानीय व्यवसायी भानुभक्त उपाध्ययले आफुहरुपनि कोरोना संक्रमितको सम्पर्कमा पुगेकाले शुल्क तिरेर परीक्षण गराउने चाँहेको भएपनि त्यसबाट आफुहरुलाई बञ्चित गराईएको बताउँनुभयो ।

बजार क्षेत्रका केही मानिसहरुमा लक्षण मिल्दोजुल्दो भएपनि परीक्षण नगराई बसेको पाईएको छ । कोरोना संक्रमण पुष्टि भएपनि औषधी उपचार नपाउने भएपछि परीक्षण नगराएको एक स्थानीयले बताउँनुभयो । “म आफुमा पनि लक्षण मिल्दोजुल्दो छ तर जचाँउदीन ।” उहाँले भन्नुभयो, “आईसोलेसनमा बसेकाले पनि औषधी खासै पाएका छैनन्, अब मलाई भेट्यो पनि त उस्तै हो, बरु घरैमा बस्दा हरेक कुराको व्यवस्था हुन्छ ।”

गाउँपालिका प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य
विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पालिका प्रबेशमा थप कडाई गरेको छ । बिहिबार एक बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिका प्रवेश गर्ने जोकोहीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत बिनोद भटराईले जानकारी दिनुभयो ।

काठमाडौबाट आएका ७० बर्षिय बृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै बिहिबार देखि अर्को निर्णय नभएसम्म जुनसुकै माध्यमबाट खुम्बु क्षेत्र प्रबेश गर्ने नागरिकले पिसिआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश नगरेको खण्डमा फिर्ता पठाउने प्रमुख प्रशासकीय अधिकृत भटराईको भनाइ छ । कोरोनाको लक्षण देखिएकाले उहाँलाई मंगलबार हेलिकप्टर मार्फत काठमाडौ लगेर टेकुमा पिसिआर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

बिहिबार रिपोर्ट आएपछि खुम्बु क्षेत्रका नागरिक त्रसीत बनेका छन् । गाउँपालिकाको वडा नम्बर ३ का स्थानीयमानै कोरोना पोजेटिभ आएको भन्दै नागरिक त्रसीत भएको स्थानीय लाक्पा ग्याल्जेन शेर्पाले बताउँनुभयो । कोरोना जोखीम बढेको भन्दै गाउँपालिकाले सबै हवाई कम्पनीहरुलाई यात्रु नल्याउन पनि अनुरोध गरेको छ ।

वडा अध्यक्षलाई पनि कोरोना संक्रमण पुष्टि

लिखुपिके गाउँपालिकाका १ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ । कातिक ३ गते गरिएको परिक्षणमा वडा अध्यक्ष सहित ३ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

एक सय जनाको स्वाव संकलन गरिएकोमा एमडी दुगड हाईड्रोका २ जना कर्मचारी सहित १ जना वडा अध्यक्षको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ आएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो । अहिले लिखुपिके गाउँपालिका आफैले पिसिआर मेसिन खरिद गरेर परीक्षण गरिरहेको छ । संक्रमीत वडाअध्यक्ष आफनै होमआसुलेसनमा बस्नुभएको छ भने हाइड्रो पावरका कर्मचारीलाई संबन्धित कम्पनीले व्यवस्थापन गरेको छ । यस अघि सोही हाईड्रोपावरमा काम गर्ने ४६ जना मजदुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमितको संख्या बढ्नुको मुख्य कारण स्थानीयले स्वास्थ्य मापदण्डको पालना नगर्नुनै रहेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतको भनाई छ । गाउँपालिकाले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्दा कोरोना संक्रमणको जोखीम बढेको भन्दै अध्यक्ष बस्नेतले संक्रममित क्षेत्रबाट आएका नागरिकहरुलाई खुल्ला रुपमा हिड्डुल नगर्न आग्रह गर्नुभयो ।

पालिकाले बाहिराबाट आउने नागरिकलाई ७२ घण्टा अगाडी जाँच गरेको पिसिआर रिर्पोटको साथमा १४ दिन होमक्वारेटिनमा बस्न सुचना जारि गरे पनि नागरिकले पालना गर्ने गराउनेमा कम्जोरी भएको अध्यक्ष बस्नेतको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार