काठमाडौं: कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले कडाई गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले चाडबाडको समयमा कोरोना संक्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेकाले चाडपर्वमा थप जोखिम हुनसक्नेतर्फ सचेत गराएको छ ।
गृह मन्त्रालयले दशैँ बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसम्भव सबै उपायहरू अवलम्बन गर्न र गराउन मातहतका सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो ।
मन्त्रालयको निर्देशनअनुरूप कतिपय जिल्लामा निषेधाज्ञा तथा प्रतिवन्धका विविध व्यवस्था कार्यान्वयनमा आइसकेको पनि उहाँले बताउनुभयो । अतिआवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला, जमघट तथा भोजभतेर नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।