काठमाडौं: प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादशैं आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।
]पूजा कोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोपिन्छ ।
यव अँकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो ।
घटस्थापनाको साइत आज बिहान ११ बजेट ४६ मिनेटमा उत्तम रहेको छ । यसेबीच टीकाको साइत कात्तिक १० गते १० बजेर १९ मिनेटमा रहेको छ । दशैं नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजाआराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।