सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप

काठमाडौँ  :  प्रहरीले हत्याको छानबिन नगरेको भन्दै आज दिउँसो (बुधबार) नेपाली कांग्रेस द्वारा सर्लाहीको सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ । जिल्ला प्रहरी कार्यालय अगाडी भएको उक्त प्रदर्शनले उग्ररुप लिएपछि काँग्रेस कार्यकर्ता र सुरक्षाकर्मी बिच दोहोरो झडप भएको छ ।

झडपको क्रममा दुबै तर्फबाट  ढुँगा हानाहान र लाठी चार्ज हुँदा डिएसपी मदन कुवँर सहित १६ जना सुरक्षाकर्मीहरु घाईते भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीलाई  ३१ राउन्ड अश्रु ग्यास प्रहार गर्नुपरेको  जिल्ला प्रहरी कर्यालय  सर्लाहीका प्रहरी नायब उपरिक्षक मदन कुवरले जानकारी दिए । प्रदर्शनकारीहरु मध्ये काँग्रेसका  २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाली  कांग्रेस सर्लाहीका  जिल्ला सभापति  नागेन्द्र रायले दिएको जानकारी अनुसार आफ्नो   १३ जना पार्टी  कर्याकर्ताहरु घाइते  भएको छ, जसमध्ये  १२ जना गम्भीर रूपमा घाईते रहेका छन् । झडपको रिपोर्टिङ गर्न पुगेका केही पत्रकारहरुलाई पनि चोटपटक लागेको छ । घाईतेहरूको उपचार सर्लाही असपताल मलंगवामा भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरी  सर्लाहीको  रामनगर गाउँपालिका वडा न–७ सिसौट निवासी महेन्द्र रामको हत्याको छानबिन नगरेको भन्दै प्रदर्शन गरेका हुन् । रामलाई  गएको असोज २१ गते साँझको  समयमा आफनो घर अगाडी बसिरहेको अवस्थामा करिब १५ जनाको समुहमा आएका मानिसहरुको समुहले  घरेलु हातहतियारद्वारा हमला गरि गम्भीर घाइते बनाएका  थिए ।

गम्भिर घाइते भएका रामको सदरमुकाम  मलंगवा स्थित सर्लाही  अस्पतालमा  प्राथमिक उपचार पश्चात्  थप उपचारको लागि इन्डो अस्पताल बिरगंज लगिएको र त्यही उनको भोली पल्ट ९असोज २२ गते० मृत्यु भएको थियो ।

रामको मृत्यु  पश्चात् शव परिक्षणको लागि सर्लाही स्थित मलंगवा  अस्पताल ल्याउने क्रममा प्रहरीले अनावश्यक दवाव दिई शवलाई बिरगंज स्थित नारायणी अस्पतालमै राखेको भनी  काग्रेसका नेताहरूको भनाई छ ।दुई दिन अगाडी पार्टीले रामको हत्याको छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र समेत पठाइसकेको जिल्ला अध्यक्ष रायले  बताए ।

आफूहरुको  जायज मागलाई जिल्ला प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर विरोध प्रदर्शन गरेको काँग्रेस सर्लाहीका नेताहरूले बताएका छन् ।पार्टीले  मृतक परिवारको जाहेरी दरखास्त दर्ता, सहिद घोषणा र परिवारलाई क्षतिपूर्ती लगायतका  मागहरु राख्दै आएको छ ।   प्रहरीलेनै अपराधको निष्पक्ष छानबिन गर्नुको साटो राजनीतिक दवावमा आएर पिडित पक्षको जाहेरी दरखास्त दर्ता नै नगरी दोषिलाई उन्नमुक्ति दिने कार्य गरेको कांग्रेसका नेताहरूले आरोप लगाएको छ ।

हाम्रो  मागहरू पुरा नभए र दोषि उपर कडा कार्वाही नभए मृतकको  शव नबुझ्ने र  पिडित परिवारलाई न्याय दिलाउन थप संघर्षका कार्यक्रमहरु अघि सार्ने नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापती तथा संघीय सांसद नागेन्द्र कुमार रायले बताउनु भयो । मृतक रामको शव विगत ६ दिन देखि नारायणी अस्पतालमै राखिएको   छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार