काठमाडौँ : सरकारले सार्वजनिक सवारी साधनमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो ।
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।
अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने निर्णय गरेको छ । भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय पनि सरकारले गरेको छ ।
बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए । बैठकले आम नागरिकलाई दशैँमा काठमाडौं उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ । अहिले रहेकै स्थानमा दशैँ मनाउन आग्रह गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।