काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ । दुई अध्यक्षबीच केहीबेर अघिबाट भेटवार्ता भइरहेको एक नेताले जनाएका छन् ।
दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल हुने बताइएको छ । दुई नेताबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा लामो समयदेखि कुराकानी भएपनि मिल्न सकेको छैन ।
रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने ओलीको चाहाना छ भने प्रचण्ड अपवाद बाहेक दुई वर्ष पुगेकाहरुको स्थानमा नयाँ मन्त्री नियुक्त गर्नुपर्ने पक्षमा छन् ।
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट थिए । गत असोज २० गते बसेको सचिवालय बैठकमा यसबारे सामान्य छलफल भएको थियो ।