काठमाडौं : प्रदेश ५ को स्थायी राजधानी र नामकरणको प्रस्तावमा प्रदेश सभामा आज मतदान हुँदैछ । प्रदेश सरकारले शुक्रबार दर्ता गरेको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको प्रस्तावमाथिको छलफल हिजो सकिएपछि आज मतदान हुन लागेको हो । सभामुख पूर्णबहादुर घर्तीले सदस्यका लागि प्रदेशसभा स्थायी राजधानी र नामकरणसम्बन्धी आन्तरिक कार्यविधि २०७७ को दफा ६ उपदफा १ बमोजिम छलफल सकिएको १८ घण्टाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने समय उपलब्ध गराउनुभएको छ ।
प्रदेशसभाका नेकपाका प्रमुख सचेतक एवं कार्य व्यवस्था परामर्श समितिका सदस्य भूमिश्वर ढकालले संशोधन दर्ता गर्ने संशोधनकर्तालाई सुरुमा बोल्ने मौका दिइने र त्यसलगत्तै प्रस्तावलाई मतदान प्रक्रियामा लैजाने बताउनुभयो ।
८७ जना सदस्य रहेको प्रदेशसभामा नेकपाका मात्र ६१ सदस्य छन् । तीमध्ये सभामुखबाहेक ६० सदस्यले मतदान गर्नेछन् । नेकपाको संसदीय दलको सोमबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।
त्यस्तै कांग्रेसका १९ सदस्यमध्ये लुम्बिनी क्षेत्रका १३ ले विपक्षमा र राप्ती र भेरीका ६ जनाले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना छ । जनता समाजवादीका ६ मध्ये ३ ले पक्षमा र २ ले विपक्षमा मतदान गर्ने जानकारी दिएका छन् । यद्यपि नेकपा बाहेक कुनै पार्टीको पनि अहिलेसम्म संसदीय दलबाट निर्णय गराएको छैन । त्यस्तै एक मात्र सदस्य रहेको राष्ट्रिय जनमोर्चाले पनि अहिलेसम्म निर्णय सार्वजनिक गरेको छैन ।