२२ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य जटिल

काठमाडौं : चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै २२ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य जटिल बनेको छ ।
चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि केसीले अस्वीकार गर्नुभएको छ ।

डाक्टर केसीलाई सास फेर्न असजिलो भएपछि फेस मास्कको माध्यमबाट प्रतिमिनेट ४ देखि ६ लिटरसम्म अक्सिजन दिइएको छ । सास फेर्न असजिलो हुने, अक्सिजन आवश्यक पर्ने र बेलाबेला मुटुको चालमा गडबडी हुने अवस्थालाई हेरेर आईसीयूमा भर्ना हुन सल्लाह दिँदा केसीले अस्वीकार गर्नुभएको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक डाक्टर सुवासप्रसाद आचार्यले बताउनुभयो ।

१९ औं सत्याग्रहमा रहेका डाक्टर केसीको बीचबीचमा मुटुको तीव्र धड्कन हुने समस्या देखिएको छ । छाती, मांसपेशी दुख्ने र बाउँडिने, चक्कर लाग्ने जस्ता स्वास्थ्य समस्या पनि बढेको चिकित्सकहरूले बताएका छन् । केसको रगतमा सेता रक्त कणिकाको संख्यासमेत कम भएकाले संक्रमणसम्बन्धी जोखिम उच्च छ ।

कोभिड–१९ को बढ्दो संक्रमण र अन्य संक्रमणको जोखिमका कारण हाल आगन्तुकलाई डाक्टर केसीसँग भेटघाट गर्न रोक लगाइएको छ । यसैबीच, नेपाल चिकित्सक संघले सरकारलाई ७२ घण्टाभित्र वार्ता टोली गठन गरेर माग सम्बोधन गर्न चेतावनी दिएको छ । डाक्टर केसीको स्वास्थ्यस्थिति गम्भीर मोडमा पुगेपछि चिकित्सक संघले विशेषज्ञ समाज, पूर्वअध्यक्ष र महासचिव, उपत्यकाका अस्पतालका निर्देशकहरू र परिषद् सदस्यहरूसँग बृहत् छलफल गरेपछि सरकारलाई अल्टिमेटम दिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार