काठमाडौं : विश्वभर साढे दुई करोडभन्दा बढी कोरोना संक्रमित निको भएका छन् । दुई करोड ५१ लाख संक्रमित निको हुँदा १० लाख १२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
विश्वभर कुल संक्रमितको संख्या तीन करोड ३८ लाख नाघेको छ । सबैभन्दा बढी प्रभावित अमेरिकामा ७४ लाख संक्रमित भएको छन् । जसमध्ये साढे ४६ लाख निको भएका छन् भने दुई लाख १० हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । यस्तै दोस्रो बढी प्रभावित भारतमा संक्रमित संख्या ६२ लाख २३ हजारभन्दा बढी छ ।
भारतमा ५१ लाख ८४ हजार संक्रमित निको भएका छन् भने ९७ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । यसैबीच, भारतीय उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना संक्रमण पुष्टि भएको छ । उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गर्दै कोरोना पोजेटिभ देखिएको जनाएको छ । उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।