नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

काठमाडौँ  –  बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार  नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको  अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए ।

कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उनले बताए ।   नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा रु एक करोड ७३ लाख खर्च भएको सार्वजनिक गरेको थियो ।

कोरोना नियन्त्रणमा अनियमितता भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । उक्त छानबिन समितिले यही असोज ९ गते प्रतिवेदन सार्वजनिक गर्दै कोरोना नियन्त्रण तथा अन्य शीर्षकमा रु ५३ लाख १५ हजार ७२१ अनियमितता गरेको ठहर गरेको थियो ।

सोही प्रतिवेदन र उजुरीका आधारमा छानबिन गर्नका लागि अख्तियारको टोलीले प्रतिवेदनसहित कोरोना जोखिम नियन्त्रणमा राहत सामग्री खरिद र वितरणका साथै सवारी साधन खर्चको विवरणसहितको फाइल नियन्त्रणमा लिएको हो । “छानबिन समितिले निकालेको प्रतिवेदनमा उल्लेख गरिएका बुँदाहरुका आधारमा सबै कागजात लगिएको छ”, सूचना अधिकारी जोशीले भने, “अनुसन्धान स्थलगत पनि हुन्छ ।

छानबिन समितिले कर्मचारीदेखि जनप्रतिनिधिहरुले सवारी साधन प्रयोगका नाममा अनियमितता गरेको ठहर गरेको थियो । समितिले प्रतिवेदन सार्वजनिक गर्दै प्रतिवेदनमा औँल्याइएका अनियमित खर्च असुलउपर गर्न नगरपालिकालाई आग्रह गरेको थियो । जवाफमा नगरप्रमुख केशवहादुर चन्दले छानबिन गरी अनियमितता गरेको भए असुलउपर गरिने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार