हिमाली बौद्ध परम्पराको मान्यता अनुसार हर दुख कष्टहरुलाई रोक्न र संसारमा रहेका हर प्राणीको हितको लागि जिन्सा गर्ने प्रचलन छ । जिन्सा विशेषगरी धार्मिक पर्व, उत्सव र धार्मिक कार्यक्रम, पूजा आदि हुदा गर्ने गरेको पाईन्छ । विशेषत जिन्सा गर्नुको मुख्य धार्मिक मान्यता जमिनमा र जमिनमुनी समेत देवीदेवता र ङा लुहरु बस्ने गरिन्छ । त्यसकारण जमिन माथि बस्न र विभिन्न पाठ पूजा गर्न अनुमति माग्दा जिन्सा गर्ने गरेको धार्मिक मान्यता रहेको छ ।
त्यसैगरी यस जमिनमा बस्दा कुनै पनि प्रकारको विघ्नवाधा आई नपरोस् भन्ने हेतुका साथ जिन्सा गरिन्छ । जिन्सा गर्ने कुनै समय भने तोकेको नहुने धार्मिक गुरुहरुको बनाई छ । कोही मानिस विरामी पर्दा, नयाँ जमिन खरिद गर्दा, नयाँ गुम्बा तथा पाठपूजा गर्दा जिन्सा गरी सम्पूर्ण दुख, कष्ट, मानिसको जीवनमा आईपर्ने हर विघ्नवाधाहरु ह्टेर जाओस् भन्ने आस्थाका साथ जिन्सा गरिन्छ ।
जिन्सा गर्दा विशेष गरी हामीले दैनिक जिवनमा प्रयोग गरिने अन्न, सामनलाई जम्मा गरेर आगोमा जलाउने गरिन्छ । हामीले संसार जगत्मा देख्न सक्ने, देख्न नसक्ने विभिन्न प्रकारका प्राणीहरु हुन्छन् । यिनीहरु केही जमिन मुनी, केही पानी माथि, केही आकशमा, हुन्छन् तिनीहरुलाई जिन्साको माध्यमबाट भोजन गराउने र त्यसबाट पुण्य हुने विश्वासका साथ जिन्सा गरिने गरेको पाईन्छ । जिन्सा गर्दा धार्मिक गुरुहरुको विशेष उपस्थितिमा विशेष पाठ पूजा गरी गर्ने गरेको हामीले हेर्दै आई रहेका छौँ ।