काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताउनु भएको छ । उहाँले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँनु भयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पार्नुभयो ।
उहाँले बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको चर्चा गर्नु भयो ।
उहाँले यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा गँर्दै बालबालिकाको हितमा सरकारले काम गरिरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले विकृति, पछौटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र पुुर्खाले कल्पना गरेअनुरूप सर्वे भवन्तु सुखिन सबै सुखी होऊन्को गन्तव्यमा पु¥याउन सरकार अग्रसर रहेको बताउनु भयो ।
उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बालबालिकाको भविष्य भएको चर्चा गर्नु भयो । उहाँका अनुसार यसको सफलता तपाईंहरूको जीवनको सफलतासँग गाँसिएको छ । नकारात्मक र हानिकारक विचार, प्रवृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनुपर्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।