सोलु करिडोर सम्पन्न गर्न चौथोपटक म्याद थपियो

सोलुखुम्बु : निर्माणाधिन सोलु करिडोर आयोजनाको म्याद पुनः चौथो पटक थप गरिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिना भित्र काम सम्पन्न गर्ने गरि पहिलोपटक सम्झौता भएको आयोजनाले पुनः चौथो पटक म्याद थप गरेको हो ।

सोलुखुम्बुमा उत्पादन भएको विद्युतलाई बाहिर लैजानको लागि १३२ केभि प्रशारण लाईन निर्माण गरिएको भएपनि विभिन्न कारणले समयमानै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमको भनाई छ । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा शब स्टेशन निर्माण भइसकेपनि करिडोरको काम अझै सक्ने छाटकाट छैन ।

सन् २०२० जुलाई १५ मा सक्ने सर्तमा तेस्रो पटक म्याद थप गरिएको भएपनि कोरोनाका कारण समस्या भएको भन्दै पुनः चौथो पटक डिसेम्बर ३१ अर्थात पुस १६ गते सम्म समय थप गरिएको आयोजनाका प्रमुख जनार्दन गौतमको भनाइ छ ।

आयोजनाको काम गर्न समस्या नभएपनि कामदार ल्याउन समस्या भएको उहाँको भनाइ छ । भारतिय कामदार ल्याएर अहिलेपनि काम भईरहेको भएपनि थप कामदार ल्याउन नसक्दा प्रभावीत भएको भन्दै म्याद थपिएको समयमा समेत काम सम्पन्न गर्न नसकिने प्रमुख गौतमको भनाइ छ ।

सिरहाको मिर्चैया देखी तिङ्ला सम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भएपनि अहिले सम्म २८१ वटाको मात्रै फाउण्डेशनको काम सकिएको आयोजनाले जनाएको छ । अब २१ वटा टावर निर्माण गर्नुपर्ने भएपनि ५ वटामा मात्रै सुस्तगतिमा काम भईरहेको आयोजना प्रमुख गौतमले बताउँनुभयो । तिब्रगतिमा काम गर्न नसक्नुको मुख्य कारण कोरोना महामारीनै रहेको उहाँको भनाइ छ ।

यस्तै ९० किलोमिटर दुरी रहेको करिडोरमा अहिले सम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ । लामो समय सामुदायिक बनको विवादले गर्दा बन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला २३.५ मेगावाटमा उत्पादन भएको विद्युत खेर गइरहेको छ । अहिले ११ केभि प्रशारण लाइन मार्फत रुमजाटार सब स्टेशनमा लगेर खपत गर्ने प्रयास गरिएकोपनि अझै तेब्बर विद्युत खपत हुन नसकेको विद्युत आयोजनाले जनाएको छ ।

यस्तै सोलुखोलामानै निर्माणाधिन अवस्थामा रहेको तल्लो सोलुखोला ८२ मेगावाटको समेत काम सुस्त गतिमा भईरहेको छ । शब स्टेशन निर्माण भएपनि करिडोरको काम सम्पन्न नहुँदा सुस्तगतिमा काम गर्नुपर्ने बाध्यता रहेको आयोजनाका जनसम्पर्क अधिकृत कविराज पौडेलले बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार