सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक थाइराइड परीक्षण सुरु भएपछि यस क्षेत्रका नागरिक हर्षित भएका छन् । सदरमुकाम सल्लेरीमा सञ्चालित सोलु हेल्थ कियर प्रा.लि.ले कोरोना महामारीकै बीचमा सेवा सुचारु गरेपछि सहज हुने भन्दै यहाँका नागरिक हर्षित भएका हुन् ।
अब थाइराइड परीक्षणका लागी काठमाण्डौ लगायत जिल्ला बाहिरको अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीय उमा शाक्यले खुशी व्यक्त गर्नुभयो । यस अघि थाइराइड परीक्षण गराउँनकै लागि यहाँका नागरिक बिराटनगर, धरान या काठमान्डौ जानुपर्ने बाध्यता थियो ।
लक डाउन तथा कोरोना महामारीका कारण पुनः जाँचको लागि अन्यत्र जान नपाएको बेला जिल्लामै सेवा सुरु हुनु सुखद भएको तिङ्लाकी पुर्णमाया बस्नेतले बताउँनुभयो । “केही महिना अघि बिराटनगर गएर चेक गराउँदा थाइराइड देखिएको थियो अनि फेरी चेक गरेर औषधी थपघट गर्नुपर्छ भनेका थिए ।” उहाँले भन्नुभयो, “कोरोनाकै कारण जान सकिरहेको थिइन अब यही आयो ढुक्क भयो ।”
“काठमान्डौ जानको लागि एकतर्फी जिप भाडा रु.१५०० तिर्नुपर्छ भने इटहरी जानको लागि एकतर्फी मात्रै रु.१८०० सम्म तीर्नुपर्छ ।” स्थानीय धनमाया मगरले भन्नुभयो, “जाने आउँने र खाना खाने खर्चले जिल्लामानै थाइराइड परीक्षण गराउँन सकिन्छ भने समयको समेत बचत हुँदा हामी एकदमै खुसी छौ ।”
“खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्ने हर्मोनलाई थाइराइड हर्मोन भनिन्छ ।”सोलु हेल्थ कियरका प्रबन्धक निर्देशक डा. राजेन्द्र बस्नेतले भन्नुभयो, “हाम्रो घाँटीमा हुने यो ग्रन्थीको समस्या धेरै मानिसमा भएपनि परीक्षण नहुँदा अधिकांशले रोग पालेर बस्नु बाध्य छन् ।”
हेल्थ कियरका अनुसार अहिले जिल्लामै सेवा सुरु भएपछि दैनिक २० जना भन्दा बढीले परीक्षण गराउने गरेका छन् । थाइराइड हुँदा कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउन, शरीरमा पसिना बढी आउने वा कम आउने, निद्रा बढी लाग्ने वा कम लाग्ने, कब्जियत हुने वा झाडापखाला लाग्ने, महिलाहरुमा महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, हात काँप्ने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुने लगायतका लक्ष्यण देखिने चिकित्सकहरु बताउँछन् । हिमाली जिल्ला सोलुखुम्बुमा यस्ता बिरामीको संख्या अत्याधिक भएकै कारण परीक्षण सुरु गरिएको डा.बस्नेतको भनाई छ ।
“धेरै केसहरु ओखलढुंगाको मिसन अस्पतालमा ठीक हुन्छ तर थाइराइड परीक्षण गर्ने प्रविधि नहुँदा यस क्षेत्रका नागरिकलाई समस्या भईरहेको छ ।” बस्नेतले भन्नुभयो, “म यहि जिल्ला बासी हुँ त्यसैले यहाँका नागरिकलाई स्वास्थ्य सेवामा सहज होस भन्ने उदेश्यले ऋण खोजेरनै सेवा सञ्चालन गरिएको हो ।”
कोरियन टेक्नोलोजी रहेको उक्त मेसिनले विभिन्न ६० प्रकारको रोग पत्ता लगाउन सक्ने चिकित्सकको भनाई छ । विगतका दिनमा थाइराइडको रिपोर्ट आउनको लागि २२ दिन पर्खनुपर्ने भएपनि अहिले १२ मिनेटमै रिपोर्ट आउने डा. बस्नेतले बताउँनुभयो ।
सरकारी अस्पतालले यो सेवा सञ्चालन गर्न सक्ने भएपनि सामान्य रोगको उपचारमा समेत निजि अस्पतालमा जानुपर्ने बाध्यता रहेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाको भनाइ छ । उहाँले सरकारी अस्पताललाई चुनौती दिदै हेल्थ कियरले थाइराइड परीक्षण समेत सुरु गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
आगामी दिनमा जिल्लाबासीले सहज सेवा पाउँने भन्दै सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । थाइराइड रोग सामान्यतया शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी हुँदा या वंशानुगत रुपमा पनि लाग्ने भएको हुँदा समयमानै उपचार गराउनुको बिकल्प नभएको चिकित्सक बताउँछन् ।