काठमान्डौ : ओखलढुंगामा जिल्ला समन्वय समितिका प्रमुख र नेपाली काग्रेसका सभापति सहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । समय प्रमुख जयबहादुर श्रेष्ठ र नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवारलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठ सहित उहाँको परीवारका ३ जना सदस्यमा समेत कोरोना देखिएको छ । संक्रमितहरुलाई रुम्जाटारको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।
उहाँहरुलाई केही दिनदेखी ज्वरो आएको र सदरमुकाम ओखलढुंगास्थित कोठामै आराम गरिरहनुभएको छ । त्यस अघि उनीहरु काँग्रेसको क्रियाशिल सदस्यता वितरण अभियानमा गाउँ घुमेका थिए । सभापति सुनुवारले आफँु संक्रमित भएको र जिल्लाबासीलाई सुरक्षित रहन अपिल गर्नुभएको छ ।
पछिल्लो समय पठाइएको ८१ जनाको स्वाबमध्ये १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो । उहाँका अनुसार ९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जना यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका सकृय संक्रमितहरुकै रिपोर्ट पोजेटिभ आएको हो । मंगलबार आएको रिपोर्टमा सुनकोशी गाँउपालिकाका सबैभन्दा धेरै ५ जना, खिजिदेम्बा गाँउपालिकाका १ जना, मानेभञ्ज्याङ गाउपालिकाका १ जना र जिल्लामा सरुवा भएर आएका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकै दिन १२ जनामा कोरोना संक्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सबैलाई सतर्क रहन आग्रह गरेको छ । प्रशासनले विज्ञप्ती जारी गर्दे भिडभाड हुनेखालका कुनै पनि गतिबिधि नगर्न सचेत आग्रह गरेको छ ।