सोलुखुम्बु : सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ११ रमितेमा प्रहरी टोली माथि हातपात भएको छ । रमितेको एक होटलमा मदिरापान सेवन गरि होहल्ला गरिरहेका युवालाई सम्झाउन पुगेको प्रहरीटोली माथि एक्कासी हातपात भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक मन्दिप चौहानका अनुसार आईतबार दिउँसो करिब ३ः३० बजेको समयमा स्थानीय सन्तोष खड्काको होटलमा मदिरापान सेवन गरि होहल्ला गरेको सुचना पाएपछि सम्झाउन पुगेको प्रहरीलाई ६ जना युवाको समुहले एक्कासी हातपात गरेका हुन् ।
ती युवाहरुले प्रहरी सहायक निरिक्षक सरयुग महतोको प्रहरी पोषकमा लगायको सिठि समेत चुटाई लानुका साथै लडाएर लात्ता तथा खादै गरेको क्यान बियरले समेत हानी घाईते बनाएको प्रहरी नायव उपरिक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिनुभयो । प्रहरी सहायक निरिक्षक सहित ३ जना प्रहरी टोलिमाथि ती युवाहरुले हातपात गरेको बताईएको छ । धेरै कुटाई खानुभएका प्रहरी सहायक निरिक्षक महतो अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा जानकारी हुन साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको नेतृत्वमा खटिएको टोलिले साँझ ५ बजे उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । घटनामा संलग्न भई पक्राउ पर्नेहरुमा सिद्धिचरण नगरपालिका ६ ओखलढुंगाका २५ बर्षका बिजय मगर, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ८ बस्ने बर्ष २४ को शेर बहादुर मगर, ४५ बर्षका भीम बहादुर मगर, सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ४० को चन्द्र बहादुर मगर, बर्ष ३८ को मोहन कार्की र ३५ बर्षका फुर्वा शेर्पा रहेका छन् । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय ल्याइ घटनाको बिषयमा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।
साविक तिङ्ला गाविसमा ३ वटा हाईड्«ोपावर निर्माण भईरहेको छ भने रमितेमा बैंक समेत सञ्चालनमा छ । बजारमा पटक पटक चोरी लगायतको घटना समेत घट्ने गरेका कारण त्यस क्षेत्रमा विभिन्न अपराधिक गतिविधि बढ्ने अनुमान सहित गत साउन १२ अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको थियो । स्थानीयको माग तथा आवश्यकता समेत महशुस गरि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रहरीको भनाई छ ।
तर प्रहरी पोष्ट स्थापना भएको एक महिना नपुग्दै स्थानीयको सुरक्षामा खटिएको प्रहरी टोलिनै युवाको आक्रमणमा पर्नु राज्य माथिको आक्रमण भएको प्रहरी नायव उपरिक्षक लिम्बुको भनाई छ । समाजमा हुने यस्ता घटनाले दण्डहिनता तथा अराजगता बढ्ने भएकाले यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सबैको सहयोग आवश्यक पर्ने उहाँको भनाई छ ।







