काठमाडौँ: चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी ६५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको हो । मृत्युपछि मात्रै ती महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो ।
पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै उनको स्वाब संकलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो । तर, रिपोर्ट नआउँदै महिलाको मृत्यु भएको पौडेलको भनाई छ ।
कलेजोसम्बन्धी उपचारका लागि ती महिलालाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नुअघि भदौ १ गते नै स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो । यस्तै, गत साउन २४ देखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी एक कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरकी ५६ वर्षीय महिलाको शनिबार बेलुका साढे सात बजे कोरोना अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १४८ पुगेको छ ।