भारतः बलात्कारपछि हत्या गर्ने चारै जनालाई प्रहरीले गोली ठोक्यो

दक्षिण भारतको हैदरावादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरु ‘प्रहरी इन्काउन्टर’ मा मारिएका छन् । बुधवार प्रहरी नियन्त्रणमा परेका उनीहरुलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो । तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार आज शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा ‘भिडन्त’ मा मृत्यु भएको बीबीसीमा उल्लेख छ ।

घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ । महिला चिकित्सकलाई बलात्कारपछि जलाइएकै स्थानमा लगेर उनीहरुलाई गोली ठोकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आफूहरुमाथि नै आक्रमण प्रयास गरेपछि प्रतिकार गर्दा अभियुक्तहरु मारिएको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् । २८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीया महिला चिकित्सकको शव बरामद गरिएको थियो । अनुसन्धानका क्रममा ती महिलामाथि बलात्कारसमेत भएको पत्ता लागेको थियो ।

यो घटनामा सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो । संसद्मा बोल्दै सांसद जया बच्चनले भिडले नै दोषीलाई दण्ड दिनुपर्ने टिप्पणी गरेकी थिइन् । दक्षिणी राज्य तमिलनाडुकी सांसद विजिला सात्यनान्थले देश महिला तथा बालबालिकाका निम्ति सुरक्षित नभएको भन्दै ती चार जनालाई डिसेम्बर ३१ अगावै फाँसी दिनुपर्ने माग राखेकी थिइन् । रक्षामन्त्री राजनाथ सिंहले उक्त घटना भारतका लागि लज्जास्पद भएको टिप्पणी गरेका थिए। उनले घटनाको निन्दा गर्ने उचित शब्द आफूसँग नभएको बताएका थिए ।

गत साता पीडित महिलाको परिवारले प्रहरीले समयमै कारबाही नगरेको आरोप लगाएपछि तीन प्रहरी अधिकारी निलम्बनमा परेका थिए । पीडित महिला सम्पर्कविहीन भएको उजुरी गर्न जाँदा प्रहरीहरूले उनी भागेको हुन सक्ने भन्दै टिप्पणी गरेको उनका नातेदारले राष्ट्रिय महिला आयोगलाई बताएका थिए ।

यसरी भएको थियो बलात्कार र हत्या

नोभेम्बर २८ को साँझ स्थानीय समयानुसार छ बजेतिर २६ वर्षीया महिला आफ्नो स्कूटरमा चिकित्सकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् । पछि उनले आफ्नो स्कूटर पन्चट भएको र एक ट्रक ड्राइभर सहयोग गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन् । उनले आफू कुनै टल प्लाजा – सडकमा आवागमनका लागि पैसा तिर्ने ठाउँ – मा पर्खिरहेको बताएकी थिइन् ।

त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भयो । बिहीवार बिहान उनको मृत शरीर सडकको ‘फ्लाईओभर’ मुनि एक दूध व्यापारीले भेटेका थिए । सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएको छ। तर त्यस्ता हिंसाका घटना कम भएका सङ्केत देखा परेका छैनन् ।

अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभर प्रहरीले ३३,६५८ बलात्कारको घटना – अर्थात् प्रतिदिन ९२ – रेकर्ड गरिएको उल्लेख छ । एक २३ वर्षीया ‘बलात्कार पीडित’ महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएपछि उनी बाँच्नका लागि उत्तरी भारतस्थित एउटा अस्पतालमा सङ्घर्ष गरिरहेकी छन् । उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सो मुद्दाको बहस सुन्न अदालत जाँदैथिइन् । आगोका कारण गम्भीर घाइते ती महिलाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार