सिता–राम विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन ः जन्तीलाई बिदाइ गरिँदै

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको साताव्यापी सिता–राम विवाह पञ्चमी महामहोत्सवको आज अन्तिम दिन रामकलेवा विधि हुने भएको छ ।

रामकलेवाको अवसरमा जानकी मन्दिर प्राङ्गनमा भारतको अयोध्याबाट आएका जन्तीका लागि विशेष भण्डारा (भोज) गरिदैछ । पौराणिक मान्यतानुसार रामकलेवामा विवाहमा जन्तीका रुपमा आएका पाहुनाहरुलाई मिष्ठान भोजन गराउने चलन रहेका छन् । पाहुनालाई ३६ व्यञ्जन खुवाउने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दासले बताउनु भएको छ ।

आज साधुसन्त तथा महन्तहरुलाई भोजन, दक्षिणा आदि प्रदान गरी बिधिबत रुपमा बिदाइ गर्ने परम्परा रहेको छ । विवाहको क्रममा हुने तिलक, मटकोर, जन्ती र मरजादको भोज (राम कलेवा) को आयोजनाले धार्मिक महोत्सवलाई सांस्कृतिक स्वरुप प्रदान गरेको मैथिली संस्कृतिविद्हरु बताउनु हुन्छ । महोत्सवले लोपोन्मुख विवाह गीतहरुलाई समेत संरक्षण गरेको छ ।

यस वर्ष मंसिर १० गतेबाट सुरु भएको साताव्यापी विवाह पंचमी महामहोत्सव आज रामकलेवा भएसँगै विधिवत समापन हुन्छ । महोत्सव अन्तर्गत हिजो राति त्रेतायुगमा जस्तै भगवान रामसँग माता सिताको विवाह गरियो । विवाहका लागि भारतका अयोध्याबाट आएका जन्तीले माता सिताका लागि सुनका गहना समेत ल्याएका थिए ।

समारोहमा भारतका अयोध्याबाट आएका जन्तीलाई गीतका माध्यमले गाली समेत दिए । विवाहमा जन्तीको बहिनीलाई गाली दिने मैथिली संस्कृति हो ।

जानकी मन्दिरमा आयोजित विवाह समारोहका प्रमुख अतिथि संघीय सरकारका उपप्रधान तथा कानूनमन्त्री उपेन्द्र यादव हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार