काठमाडौं । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले आज शपथ लिएका हुन् ।
मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गयराति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री र राज्यमन्त्रीहरू नियुक्त गर्नुभएको थियो ।
नवनियुक्त मन्त्रीमा रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक र बसन्तकुमार नेम्वाङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै, मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशंख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चोलेन्द्र शमसेर राणा लगायत विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो ।