दुई बर्ष अघि म्याद सकिएको खाद्य बस्तु बिक्रिमा, अनुगमन जाँदा भागाभाग(भिडियो सहित)

भोजराज कार्की-
सोलुखुम्बु : चाडपर्व नजिकिएसंगै बजार अनुगमनलाई कडाई गरिएको छ । चाडपर्वमा हुन सक्ने अखाद्य बस्तुको बिक्रि तथा कालोबजारीलाई नियन्त्रण गर्ने उदेश्यले बजार अनुमगनलाई चुस्त पारिने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए ।

यसैक्रममा जिल्लाको सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाईएको छ । सोलुदुधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बिहिबार संयुक्त रुपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाईएको हो । टोलि पुग्दा ती पसल सञ्चालक भागेको अनुगमनमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहीले बताईन् । उनीहरुलाई अब १५ दिनको म्याद दिएर मापदण्डमा आउन आग्रह गर्ने र यदि अबज्ञा गरि पुन सञ्चालन गरेको पाईएमा त्यस्ता पसललाई सिल गर्दै सञ्चालकलाई कार्वाही गर्ने उनको भनाई छ ।

फाप्लुमा बढी म्याद नाघेको सामाग्री ।
सल्लेरी तथा फाप्लुको अधिकांश पसलमा म्याद गुज्रेको खाद्यबस्तु मध्ये मिट मसला बढी भेटिएको छ । नगरपालिका ६ को जेरो प्वाईन्ट देखी वडा नम्बर पाँचको प्रशासन कार्यालय नजिक र वडा नम्बर ४ फाप्लु सहित ४५ वटा पसलमा गरिएको अनुगमनको क्रममा मिटमसला पछि बिस्कुट, थुक्पा र चिउरा लगाएतको खाद्य बस्तुको म्याद गुज्रेको पाईएको हो ।

अनुगमन गरिएका मध्ये ५ वटा पसल बिना दर्ता सञ्चालनमा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी कुमारी शाहिले जानकारी दिईन् । नगरपालिका उपमेयर कल्पना राईको नेतृत्वमा गरिएको अनुगमन टोलिले फाप्लु क्षेत्रको पसलबाट सबैभन्दा बढी म्याद नाघेको खाद्य बस्तु बरामद गरेको छ । टोलिले २६६ प्याकेट मिटमसला, १ सय ६४ थान बिस्कुट, ६६ थान थुक्पा, ४१ प्याकेट चिउरा सहित २१ प्रकारको खाद्य बस्तु बरामद गरेको प्रहरी निरिक्षक उत्तम कार्कीले जानकारी दिए । उनका अनुसार ती खाद्य बस्तुको मुचुल्का उठाउँने काम सकिएकाले शुक्रबार डिस्पोज गरिने छ ।


सोलुखुम्बु आईपुग्दा म्याद सकिएको हुन्छ ।

चाडबाड नजिकिएकाले मानव स्वास्थ्यलाई ध्यान राख्दै गाउँ गाउँमा समेत बजार अनुगमन गरिनुपर्ने इलाका प्रहरी कार्यालय सोताङका प्रमुख प्रहरी निरिक्षक प्रदिप खड्काले बताए । हिमाली जिल्ला भएकाले अन्तिम म्याद भएका अधिकांश खाद्य बस्तु आउँने गरेको व्यापारीले बताएका छन् । फाप्लुका एक व्यापारी पदम तामाङले केही दिन अगाडी मात्रै ल्याएको सनफ्ल्वार तेलको एक महिना अगाडीनै म्याद सकिएको पाईएको छ । उनलाई समेत डिलरले ढाँटेर छाडेको पाईएको अनुगमन टोलिले जनाएको छ । “बरामद भएका केही मसला दुई बर्ष अगाडीनै म्याद सकिएको भएपनि बिक्रिमा राखेको पाईयो” सहायक प्रजिअ शाहिले भनिन्, “व्यापारीले समेत सामान खरिद गर्दा डेट हेर्नुपर्ने सुझाव दिएका छौ ।”

बिहिबार गरिएको बजार अनुगमनका क्रममा प्रहरी, प्रशासन, नगरपालिका, घरेलु तथा साना उद्योक कार्यालय, पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग बाणिज्य संघ लगाएतको सहभागीता रहेको थियो । यो बजार अनुगमनलाई गाउँगाउँमा पु¥याईने प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । यता सल्लेरीका केही व्यापारीले समेत समय समयमा बजार अनुगमन गर्न माग गरेका छन् । अनुगमनमा पुगेको टोलिलाई उनीहरुले प्रत्येक महिना अनुगमन गरिदिन आग्रह समेत गरेका हुन् ।

कानुनी व्यवस्था ।
उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ५ को दफा २० को उपदफा १ मा बस्तु उत्पादन गर्ने उद्योग भए उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवासायको हकमा व्यवसाय दर्ता, इजाजत पत्र बिक्रि स्थलमा सर्वसाधरणले देख्ने गरी राख्नुपर्ने व्यवस्था उल्लेख । तर यहाँका अधिकांश पसलमा यो व्यवस्था लागु भएको छैन ।

सोही ऐनको परिच्छेद २ को दफा ३ को उपदफा १ ले उपभोक्तालाई गुणस्तरीय बस्तु वा सेवा प्राप्त गर्ने अधिकार प्रदान गरेको छ । सोही परिच्छेदको उपदफा २ को खण्ड (ङ) मा समेत मावन जिउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पु¥याउने बस्तु तथा सेवाको बिक्रि वितरणबाट सुरक्षित हुन पाउँने अधिकार ग्यारेण्टी गरेको छ । तर यहाँका अधिकां क्षेत्रमा सञ्चालित पसलले हाल क्रियाशिल रहेको ऐनको एक छेउपनि कार्यन्वयन गरेको पाईदैन ।

परिच्छदे ३ को दफा ११ खण्ड (घ) मा संबन्धित निकाय वा पदाधिकारीले माग गरेको बखत आफुसंग रहेको मौज्दात वा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था उल्लेख छ । तर पनि अनुगमन टोलि जाँदा कुनैपनि व्यापार व्यवसायीले आफु संग भएको गोदाम वा मौज्दात बस्तु उपलब्ध गराएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार