भूमिसम्बन्धी विधेयक पारित, हदबन्दी भन्दा बढीको जग्गा बिक्रि गर्न सकिने

काठमान्डौ : राष्ट्रियसभाले भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक पारित गरेको छ । हदबन्दी भन्दा बढीको जग्गा बिक्री गर्न पाउने व्यवस्था राख्दै राष्ट्रिय सभाबाट बहुमतले उक्त विधेयक पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो । उसले विधेयकमा उल्लेखित हदबन्दी भन्दा बढीको जग्गा र सार्वजनिक प्रकृतिको जग्गा प्रयोग सम्बन्धी व्यवस्थामा असहमति जनाएको छ । विधेयकमाथि विधायन समितिको प्रतिवेदनसहितको छलफलमा सहभागी हुदै नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले सामन्ती राजाले २०२१ सालमा ल्याएको भूमि सुधारसम्बन्धी ऐन भन्दा पनि पश्चगामी रुपमा सरकारले विधेयक ल्याएको भन्दै गम्भीर असहमति जनाए । पारित विधेयकमा उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थालाई एक पटकका लागि निश्चित रकम तिरेर हदबन्दी भन्दा बढी जग्गा राख्न स्वीकृति दिने व्यवस्था गरिएको छ ।

नेपाली कांग्रेसका ३ जना सांसदहरुले हदबन्दी भन्दा बढी जग्गाको बिक्री वितरण तथा सट्टापट्टा र सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न सकिने ÷नसकिने सम्बन्धमा दर्ता नम्बर ३६ राखेर भदौ २९ गते फरक मत दर्ता गराएको स्मरण गराए । उनले फरक मत रहेको भन्ने प्रतिवेदनमा नआएको भन्दै सभापतिको गम्भीर ध्यानाकर्षण गराए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले छलफलमा उठेका प्रश्नको जवाफ दिदै विधेयकको मु्ख्य उद्देश्य भूमिहीन सुकुम्बासीको समस्या समाधान र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने रहेको बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार