प्रचण्डले जनकपुर पुगेर भने– ओलीजी समझदारीअनुसार चल्नुपर्छ

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन्। सोमबार जनकपुर विमानस्थलमा संवाददातासँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्। हिजो संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को चुनावपछि पद छाड्छु भन्दै ५ वर्षसम्म आफू नै प्रधानमन्त्री रहिरहने बताएका थिए । त्यसैको सांकेतिक जवाफस्वरुप दाहालले यस्तो बताएका हुन्।

‘नेकपाको सरकार ५ वर्षसम्म रहन्छ। यसमा कुनै दुविधा नै छैन,’ दाहालले भने, ‘सरकार पनि ५ वर्ष जान्छ। ओलीजी पनि समझदारीअनुसार चल्नुहुन्छ।’

उनले पार्टी एकतामा धेरै भ्रम छर्न खोजिएको उल्लेख गर्दै तैपनि आफूहरुले एकता टुंगोमा पु¥याएको बताए। ‘पार्टी एकता नगरेको भए हुन्थ्यो’ भनाईको अपव्याख्या गरिएको बताउँदै अध्यक्ष दाहालले भने, ‘मैले त्यसो भनेकै होइन। पार्टी एकता गरिसकेका हौं। अब विकल्प छैन भनेको हो। मिडियामा अपब्याख्या गरियो।’

आफूले बोलेको त्यो कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेल पनि उपस्थित रहेको र मिडियामा अपब्याख्या भएर आउँदा पौडेल पनि आश्चर्यमा परेको दाहालले सुनाए।

‘पार्टी एकता गर्नु गल्ती भयो भनेर प्रचार गरियो। जुन गलत हो,’ दाहालले भने, ‘पूर्व माओवादी, पूर्व एमाले भनेर माथापच्ची गर्नुको अब अर्थ छैन।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार