काठमाडौं : ललितपुरको गोदावरी नगरपालिकामा मात्रै ५७ क्रसर तथा खानी उद्योग दर्ता छन्। तीमध्ये ३१ सञ्चालनमा छन्। तर, कुनैको पनि मापदण्ड पूरा भएको छैन, अवैध रुपमा सञ्चालित छन्।
छिमेकी बागमती गाउँपालिकामा त दर्तामेत नगरी नौ उद्योग सञ्चालनमा छन्। जिल्ला समन्वय समितिअन्तर्गतको खानी अनुगमन तथा समन्वय समितिले मापदण्डविपरीत अवैध रुपमा चलिरहेका क्रसर बन्द गर्न पटकपटक स्थानीय सरकारलाई निर्देशन दिएको छ।
तर, कसैले पनि कार्यान्वयन गरेका छैनन्। ‘पछिल्लो दुई बर्षमा हामीले सातपटकसम्म उद्योगहरुको अनुगमन गर्दा मापदण्ड पुरा नगरेको, नवीकरण नगरेको र दर्तासमेत नगरी चलाएको पायौं,’ जिल्ला समन्वय समितिका उपप्रमुखसमेत रहनुभएका अनुगमन समिति संयोजक विनेश महर्जनले भन्नुभयो, ‘यस्ता उद्योग बन्द गर्न स्थानीय तहलाई पटकपटक लिखित निर्देशन दियौं, तर कार्यान्वयन गर्दैगर्दैनन्।’
गत साउनमा राष्ट्रिय सतर्कता केन्द्रले पनि ललितपुरमा ढुंगाखानीका नाममा भइरहेका प्राकृति दोहनबारे छानबीन गरी दोषीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो। त्यसमाथि पनि कारबाही भएको छैन, यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ।