नेपाल शेर्पा संघको सातौँ महाधिवेशन : आङ देण्डी शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं, नेपाल शेर्पा संघको सातौँ महाधिवेशन नजिकिँदै गर्दा संघको पूर्व उपाध्यक्ष तथा सल्लाहकार आङ देण्डी शेर्पाले अध्यक्ष पदका लागि औपचारिक उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि शेर्पा समुदायको सामाजिक, सांस्कृतिक र नेतृत्व विकासमा सक्रिय रहँदै आएका शेर्पाले शनिबार राजधानीमा आयोजित आफ्नो समाजिक संजालको पेज सम्मेलनमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै आङ देण्डी शेर्पाले आफू कुनै पदको लालसा वा प्रतिष्ठाको लागि होइन, शेर्पा समुदायको पहिचान, अधिकार र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ अघि सरेको स्पष्ट पारे। “नेपाल शेर्पा संघलाई अब अग्रगामी सोच, उत्तरदायी नेतृत्व, समावेशी दृष्टिकोण र युवा उत्साह आवश्यक छ,” उनले भने, “मैले यही आवश्यकतालाई आत्मसात् गर्दै यो निर्णय लिएको हुँ।”

शेर्पाले विसं २०५३ सालदेखि नै नेपाल शेर्पा विद्यार्थी मञ्चमार्फत सामाजिक गतिविधिमा सकृय सहभागिता जनाउँदै आएका छन्। त्यसपश्चात् उनले नेपाल शेर्पा संघमा केन्द्रीय सदस्य, उपाध्यक्ष तथा सल्लाहकारको जिम्मेवारी समेत वहन गरेका छन्। उनले आफ्नो अनुभवलाई आगामी नेतृत्वमा रूपान्तरण गर्न चाहेको बताए।

आफ्नो घोषणामा शेर्पाले संघभित्रको ‘सिन्डिकेट शैली’ अन्त्य गर्दै पारदर्शी, उत्तरदायी र समावेशी नेतृत्व सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे। “नेपाल शेर्पा संघ हाम्रो साझा सम्पत्ति हो। यसको समृद्धि र अन्तर्राष्ट्रिय पहिचान निर्माण अब हाम्रो साझा लक्ष्य हुनुपर्छ,” उनले भने।

शेर्पाले आगामी कार्यकालभित्रै संघलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने, युवाहरूलाई नेतृत्वमा अभ्यस्त गराउने र शेर्पा समुदायको हकहित सुनिश्चित गर्ने खाका अघि सारे।

उनको घोषणाले संघको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याएको छ भने शेर्पा समुदायभित्र नेतृत्वमा नयाँ पुस्ताको प्रवेशको संकेत पनि देखिएको छ।

नेपाल शेर्पा संघको सातौँ महाधिवेशन मिति नजिकिएसँगै अन्य उम्मेदवारहरूको नाम पनि सार्वजनिक हुँदै जाने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार