को हुन् शेर्पा संघको अध्यक्षमा उम्मेद्वारी दिएका तेन्जी शेर्पा?

सोलुखुम्बु, तेन्जी शेर्पा हालै सम्पन्न नेपाल शेर्पा संघको केन्द्रीय सातौँ महाधिवेशन (२०८२) का अध्यक्ष पदका उम्मेद्वार हुन्, जसले लामो समयदेखि शेर्पा समुदायको हक–हित, सांस्कृतिक पहिचान, र संस्थागत सुदृढीकरणका लागि समर्पित भूमिका निर्वाह गर्दै आएका छन्। भोजपुर जिल्ला, सदनन्द नगरपालिका–९ निवासी तेन्जी शेर्पा नेपाल शेर्पा संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा कार्यरत छन्।

समाजसेवा र नेतृत्व क्षमताको बलमा शेर्पा समुदायमा विशिष्ट छवि बनाएका तेन्जीले संघको कार्यालय र संरचना निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। उहाँको कार्यकालमा संघको सभा हललाई परम्परागत शेर्पा शैलीमा निर्माण गरिएको हो भने, संघको आफ्नै भवन खरिद प्रक्रिया पनि सहयोग गरेका थिए ।
तेन्जी शेर्पाले “राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक यज्ञडोल) – जगडोल सामुदायिक वन, पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समिति” सँग सहकार्य गर्दै शान्ति स्तूप ध्यान केन्द्रको स्थापना गरिसकेका छन्। साथै, शेर्पा समुदायको पहिचान झल्किने भवन निर्माण गर्न ‘शेर्पा ट्रस्ट’ को स्थापना गर्ने कार्य अन्तिम चरणमा पुर्‍याएका छन्।
शेर्पा युवाहरू, महिलाहरू, र शिक्षार्थीहरूको क्षमताविकास, रोजगारी, र नेतृत्व विकासमा विशेष ध्यान दिने उद्देश्यसहित आयोजना गरेका विविध कार्यक्रम सहयोग गर्दै आई रहेका छन्। युवाहरूको राजनीतिक सहभागिता, संघीय संरचनामा “शेर्पा प्रदेश” स्थापनाको दीर्घकालीन योजना, भाषा–संस्कृति संरक्षण, जलवायु परिवर्तनको असरको दस्तावेजीकरण, अन्तर्राष्ट्रिय शेर्पा मञ्चसँगको सहकार्य, र संस्थाको आर्थिक स्वावलम्बन जस्ता विषयमा उहाँले आफ्नो नेतृत्वदायी दृष्टिकोण प्रस्तुत गरेका छन्।
तेन्जी शेर्पाको उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा होइन, बरु शेर्पा समुदायको साझा सपना र भविष्य सुरक्षित गर्ने लक्ष्यसहितको सामूहिक संकल्प हो। उनका अनुसार, “शक्तिशाली संस्था, स्पष्ट दिशा र साझा नेतृत्व नै हाम्रो समाजको सफलताको मूल आधार हो।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार