काठमाडौं – ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को २०२४-२०२६ कार्यसमितिमा मनोनयन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ। टानका अध्यक्ष सागर पाण्डेले कार्यसमितिको सहमति र माइन्युटमा अभिलेखिकरण नगरी मनोनित सदस्यहरूको शपथ ग्रहण गराएको विषयमा बहुमत पदाधिकारी तथा सदस्यहरूले गम्भीर असहमति जनाएका छन्।
सह-कोषाध्यक्ष लाक्पा टि शेर्पाका अनुसार, अध्यक्ष पाण्डेले स्थापित विधि र प्रक्रियालाई बेवास्ता गर्दै मनोनित सदस्यहरूको शपथ ग्रहण गराएका छन्। “टानको विगतदेखिको परम्परा र बिधानमा आधारित प्रक्रियाअनुसार, मनोनित सदस्यहरूको नाम कार्यसमितिमा छलफल गरी सर्वसम्मतिले अनुमोदनपछि मात्र माइन्युटमा अभिलेख गरिने र त्यसपछि शपथ ग्रहण गराइने व्यवस्था रहेको छ। तर, अध्यक्षले यसलाई ठाडो चुनौती दिँदै एकलौटी निर्णय गरेका छन्,” सह-कोषाध्यक्ष शेर्पाले बताए।
बहुमत पक्षमा रहेका वरिष्ठ उपाध्यक्षसहित ११ जना सदस्यहरूले अध्यक्षको कदमलाई अस्वीकार गर्दै विधि र प्रक्रियाको पालना गर्न माग गरेका छन्। “निर्वाचन एउटा प्रक्रिया हो, जुन सम्पन्न भइसकेको छ। अहिले पक्ष-विपक्षको कुरा गर्नुभन्दा सबै मिलेर संस्थाको हितका लागि सहकार्य गर्नुपर्ने बेला हो। तर, अध्यक्षज्युको एकलौटी निर्णयले सहकार्यको वातावरण नै कमजोर बनाएको छ,” उनीहरूले संयुक्त धारणा व्यक्त गरेका छन्।
उनीहरूका अनुसार, चार महिनापछि मनोनित सदस्यहरूको शपथ ग्रहण गराउँदा ती सदस्यहरूलाई संस्थाको गतिविधि र कामप्रति जानकारी लिनुपर्ने अवसरबाट वञ्चित गरिएको छ। उनीहरूले मनोनित भएका सदस्यहरूको क्षमता र योग्यता प्रति कुनै प्रश्न नरहेको बताउँदै, विधि र प्रक्रियामार्फत नियुक्त भए उनीहरूसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पारेका छन्।
तर, अध्यक्ष पाण्डेले कार्यसमितिमा बहुमत पक्षको मागलाई बेवास्ता गर्दै मनोनित सदस्यहरूको शपथ ग्रहण गराएका कारण संस्थाभित्र द्वन्द्व चुलिएको छ। बहुमत पक्षले यस्तो कदमलाई टानको विधान र परम्पराको उल्लंघन मात्र नभई संस्थाभित्र अनावश्यक विभाजन निम्त्याउने प्रयासको रूपमा व्याख्या गरेका छन्।
अध्यक्ष पाण्डेले अर्को समूहबाट निर्वाचित सदस्यहरूप्रति पूर्वाग्रह देखाएको र संस्थाको हितभन्दा व्यक्तिगत पक्षधरता प्रकट गरेको आरोप बहुमत पक्षले लगाएका छन्। “हामीले सहकार्यका लागि सकरात्मक प्रयास गरेका थियौं। तर, अध्यक्षज्युले आफ्नो कदमबाट सहकार्यको वातावरणलाई नै खलल पुर्याउनु भयो,” उनीहरूको भनाइ छ।
टानको यो विवादले पदयात्रा व्यवसायीहरूबीच खैलाबैला मच्चाएको छ। अब टानको नेतृत्वले यो विवादलाई कसरी समाधान गर्छ भन्ने चासोसमेत बढेको छ।