काठमाडौ : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले कोरोनाको तेस्रो लहर ओमिक्रोनबाट सङ्क्रमण ह्वात्तै बढे पनि गम्भीर अवस्थाका बिरामी कम रहेको बताउनु भयो । उहाँले कोरोना संक्रमितको अवस्था गम्भीर नभए पनि कोरोनालाई हेलचेक्रयाइँ नगरी स्वास्थ्य मापदण्ड पालना गर्नमा जोड दिनु भयो।
उहाँले हाल १ हजार ८१९ संस्थागतमा रहेका छन् भने त्यसमध्ये २५१ आईसीयू र भेन्टिलेटरमा ४८ जना रहेको जानकारी दिनु भयो । कुनै पनि भाइरसको सङ्क्रमणपछि पनि स्वास्थ्यमा कस्ता जटिलता हुन्छ भन्ने रोग प्रतिरोधी क्षमतामा भर पर्ने भएकाले स्वास्थ्य मापदण्डको पालना गर्दै स्वास्थ्यको ख्याल गरिराख्नु पर्ने उहाँको भनाइ छ ।
नेपालमा पुस २० गते कोरोनाभाइरसको तेस्रो लहर तीव्र रूपमा फैलिरहेपनि स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले केही राहत दिएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमित बढ्दै गएपनि अस्पताल भर्ना हुने, आईसीयू र भेन्टिलेटर प्रयोग गर्ने बिरामीको सङ्ख्या ५ गुणासम्म घटेको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार ५०० बढी सक्रिय सङ्क्रमित रहेका जिल्ला बढ्दो क्रममा रहेका छन् । बुधबारसम्म झापा, मोरङ, सुनसरी , धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की र नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
हालसम्म कुल परीक्षणको हिसाबले सङ्क्रमण दर १८.१ प्रतिशत रहेको छ भने २४ घण्टाको परीक्षणको आधारमा संक्रमण दर दर हेर्ने हो भने ४१.१ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले सङ्क्रमण दर अझै उत्कर्षमै रहेको देखिएको बताए । संक्रमण दर पुसको २० गतेदेखि उकालो लागेको र माघ पहिलो सातादेखि तलमाथि हुने क्रममा रहेको उहाँको भनाइ छ ।







