मंसिरको चिसोमा प्रताप दास लगायतले तताए सोलुवासी

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु :  हिमाली क्षेत्रमा दिनप्रतिदिन चिसो बढ्दैछ । सगरमाथाको जिल्ला सोलुखुम्बुको त कुरै छाडौ । बिहान बेलुका मानिसलाई हिड्डुल गर्न तथा पानी चलाउनको लागि निकै मुस्किल हुनेगरेको छ भने माथिल्लो क्षेत्रका पानी नै बरफ बन्न थालेको छ । केही दिन पछि सल्लेरी क्षेत्रमा पनि पानी जम्ने गर्छ ।

अहिलेको चिसोका कारण बिहान बेलुका मानिसको चहलपल निकै कम हुनेगरेको भएपनि स्टार युथ क्लवको स्थापना दिवसको अवरमा आयोजित सांगीतिक साँझले सोलुखुम्बुवासीलाई तताएको छ । मंसिर महिनाको चिसो मौसम भएपनि बुधबार राति १ बजे सम्म यहाँका स्थानीय नागरिकहरु राष्ट्रिय तथा स्थानीय कलाकारसंग जिल्ला समन्वय समिति सल्लेरीको प्राङ्गनमा औधी रमाइरहेका थिए ।

स्टेजमा कलाकारको प्रस्तुती थियो भने प्राङ्गनमा दर्शकहरुको उस्तै जोसका साथ आ–आफ्नै प्रस्तुती रहेको थियो । जसले गर्दा पनि कार्यक्रमलाई थप रंगिन बनाएको थियो । राष्ट्रिय कलाकार शेरबहादुर गुरुङको जादुमय प्रस्तुतीलाई धेरै दर्शकले रुचाएका थिए । गुरुङले प्रस्तुती संगै विभिन्न जादु देखाउँदा दर्शक आश्चर्यचकित बनेका थिए । उहाँले पानी सकिएको लोटाबाट पटकपटक पानी खन्याउँने, लठ्ठीबाट छाता लगायतको अन्य सामग्री बनाउने, कपडाको परिकार संगै फोटो फ्रेमभित्रबाट चरा झिकेर उडाउँनुभएको थियो ।

यस्तै मोडल सृजना राईको नृत्यमा धेरै दर्शकले भिडियो खिच्दै आनन्द लिएका थिए । सोलुखुम्बु सोताङ घर भएकी मोडल राईको नृत्य अन्तिममा भएपनि उत्कृष्ट भएको दर्शकले प्रतिक्रिया दिएका थिए ।

कार्यक्रम उपस्थित मासबाट कोरोना महामारीको त्रासले घरैमा बस्न बाध्य भएका आम नागरिकलाई मनोरञ्जन समेत आवश्यक थियो भन्ने सन्देश पाइएको पावैका गोबिन्द राईले बताउँनुभयो । घरैमा बस्न बाध्य भएकै कारण दर्शकहरुको उपस्थिति बाक्लिएको अनुमान गरिएको छ । करिब ५ हजार बढी दर्शकहरुले समन्वय समितिको प्राङ्गन देखि वरिपरिको क्षेत्र भरिएको थियो ।

सोलुखुम्बु जिल्लाका संघीय सांसद हेमकुमार राई (शुरवीर), थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई लगायको उपस्थितिले पनि उक्त कार्यक्रमको शोभा बढाएको थियो । जिल्लामानै पहिलोपटक रात्रीकालिन भलिबल खेल खेलाएको क्लवले सांगितिक साँझमा पनि उल्लेखनिय दर्शक प्राप्त गरेको तेज बहादुर राईले बताउँनुभयो ।

क्लवका स्वयम् सेवक सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेका थिए भने सिसि क्यामेराबाट समेत निगरानी गरिएको क्लवका अध्यक्ष नाम्गेल शेर्पाले बताउँनुभयो । कार्यक्रममा आउँने जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई छुट्टै बस्ने व्यवस्था गरिनु राम्रो पक्ष भएको सल्लेरीका पासाङ तामाङको भनाई छ ।

सांगितिक साँझमा राष्ट्रिय कलाकार प्रताप दास, कैलाश कार्की, शुनिल कटुवाल, अस्मिता अधिकारी, पुर्ण राई, मनराज बाहिङ, कुमार प्रयास, सनकुमार तामाङ, सृजना राई, केशब कसुर, खगेन्द्र राई, विनोद बिक्रम र संगम राईको प्रस्तुती थियो ।

स्टार युथ क्लवले आफ्नो स्थापना दिवसको अवसरमा प्रदेश नं. १ महिला तथा जिल्ला भित्रका स्थानीय तह संघसंस्था समान राशी पुरष भलिबल प्रतियोगिता संगै सांगीतिक साँझको आयोजना गरेको छ । भलिब प्रतियोगिताको आज फाइन खेल हुने भलिबलका अन्तराष्ट्रिय रेफ्रि बिकास गुरुङले जानकारी दिनुभयो । महिला तर्फ झापा, खोटाङ र ओखलढुंगा सहित ७ र पुरुष तर्फ १३ समुहको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार