एजेन्सी : क्यारेबियन मुलुक हैटीका राष्ट्रपतिको हत्यामा त्यहाँका प्रधानमन्त्री मुछिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुई महिनाअघि भएको राष्ट्रपति जोभेनल मोइसेको हत्या अनुसन्धान गरिरहेका अधिकारीहरू प्रधानमन्त्री एरियल हेनरीतर्फ सोझिएका छन् ।
प्रमुख अनुसन्धानकर्ताले एकजना न्यायाधीशलाई प्रधानमन्त्री हेनरीलाई राष्ट्रपतिको हत्यामा संलग्न भएको अपराधमा मुद्दा चलाउन चिठी लेखेका छन् । उनले हैटीको अध्यागमन कार्यालयलाई लेखेको पत्रमा प्रधानमन्त्री हेनरीलाई देश छोड्न नदिन भनिएको छ । ७१ वर्षीय न्युरोसर्जन हेनरी राष्ट्रपति मोइसेको हत्या भएको दुई सातापछि हैटीको प्रधानमन्त्री बनेका थिए ।
उनका समर्थकले मेडिकल क्षेत्रमा प्रतिष्ठा कमाइसकेका उनले राष्ट्रपतिको हत्या र २ हजार बढी मानिसको ज्यान जाने गरी आएको भूकम्पपछि हैटीलाई सम्हालिरहेको बताएका छन् । अनुसन्धानकर्ताले भने राष्ट्रपतिको हत्याका एकजना अभियुक्तसँग हत्याअघि हेनरीको फोन सम्पर्क भएको देखिएको बताएका छन् । प्रधानमन्त्री हेनरीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।