सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुका सबै स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन भएको छ । कोरोना भाइरसको संक्रमणदर कम भएसंगै स्थानीय तह शिक्षा शाखाको निर्णय अनुसार विद्यालय सञ्चालन गरिएको संबन्धित पालिकाले जनाएको छ ।
स्वास्थ्य मापदण्डलाई पुर्णरुपमा पालना गर्दै कक्षा सञ्चालन भइरहेको देउसा माध्यमिक विद्यालय थुलुङ दुधकोशी–७ का प्रधानाध्यापक रेवन्त वरालले जानकारी दिनुभयो ।
दोस्रो भेरियण्टको कोरोना भाइरस संक्रमणको दर तिब्र गतिमा फैलिएसँगै बन्द भएका बिद्यालय करिब ४ महिना पछि सञ्चालनमा आएको हो । जिल्लाको सोताङ गाउँपालिकाले १५ गतेबाट विद्यालय सञ्चालन गरेको छ भने खुुम्बु पासाङ ल्हामु गाउँपालिका र थुलुङ दुधकोशी गाउँपालिकाले भदौ २७ गतेबाट सञ्चालनमा ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै नेचासल्यान गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिकाले भदौ २० गतेदेखि सञ्चालनमा ल्याएका छन् । उता कोशीपारीको महाकुलुङ गाउँपलिकाले २२ गतेबाट, लिखुपिके गाउँपालिकाले २५ गतेबाट र माप्य दुधकोशी गाउँपालिकाले १६ गतेबाट विद्यालय सञ्चालन गरेको शिक्षा बिकास तथा समन्वय इकाइ सोलुखुम्बुले जनाएको छ ।
विद्यालय वरपर र शौचालयको सरसफाई, शुद्ध खानेपानीको व्यवस्थापन, अभिभावक र विद्यार्थीहरुसँग आवश्यक समन्वय, शिक्षकहरु विद्यालय पुगेर शैक्षिक सामग्रीहरूको आवश्यक तयारी गरेर पठनपाठन थालेको जनता माध्यमिक विद्यालय लोखीमका प्रधानाध्यापक हस्तबहादुर राईले जानकारी दिनुभयो । जिल्लामा २७६ वटा विद्यालयमा करिब २८ हजार बालबालिका अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङकमा उल्लेख गरिएको छ ।
विद्यालय सञ्चालनमा आएपछि विद्यार्थी समेत खुसी भएका छन् । विद्यालयमा अनिवार्य मास्क प्रयोग संगै भौतिक दुरी कायम गरिएको र साबुन पानीले बेला बेलामा हात धुने लगायतको व्यवस्था भएकाले ढुक्क भएर अध्ययन गरिरहेको वीरेन्द्रज्योती माध्यमिक विद्यालय सोतामा अध्ययनरत छात्रा अम्बीका राईले बताउँनुभयो ।
नेपालको विभिन्न विद्यालयले अनलाईन कक्षा सञ्चालन गरेको भएपनि हिमाली जिल्ला सोलुखुम्बुमा भौगोलिक विकटताका कारण इमेल, इन्टरनेट नचल्दा यहाँका अधिकांश विद्यालयले पठनपाठन सञ्चालन गर्न सकेका थिएनन् । जिल्ला सदरमुकाम आसपासका केही विद्यालयले कक्षा सञ्चालन गरेको भएपनि अन्य ग्रामिण क्षेत्रका विद्यार्थी पढाइबाट बन्चित भएका थिए ।
विद्यालय सञ्चालन भएपछि अभिभावक समेत खुसी भएका छन् । लामो समय घरैमा बस्दा पढ्ने बानी समेत हटिसकेको अवस्थामा स्वास्थ्य मापदण्डको पुर्णरुपमा पालना गरि कक्षा सञ्चालन हुँनुपर्नेमा अभिभावकको जोड छ ।