सोलुखुम्बु : नेपाली कांग्रेस सोलुदुधकुण्ड–७ को वडा अधिवेशन विवाद समाधानको लागि जिल्ला निर्वाचन अधिकृत संगको छलफलबाट निश्कर्ष निस्कन नसक्दा केन्द्रीय निर्वाचन समितिमा निर्णायर्थ पठाइएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा आउनुभएका कैलाश गुरुङ समक्ष वडा अधिवेशनमा भएको विवाद बारे उजुरी परेपछि दुवैपक्षसंग छलफल गर्दा निश्कर्ष निस्कन नसक्दा केन्द्रमा नै पठाउनु परेको कांग्रेस सभापति बिनोद बस्नेतले बताउँनुभयो ।
कांग्रेसको विधि र विधान विपरित एकलौटी ढंगले अधिवेशन सञ्चालन गरेको भन्दै कांग्रेसका जिल्ला नेता राजकुमार प्रधान सहित १६ जना सदस्यले जिल्ला निर्वाचन अधिकृत समक्ष निवेदन पेश गरेका थिए । एकापक्षले नियम विपरित जालझेलपुर्ण ढंगले प्रतिनिधि छनौट गरेको भनि जिल्ला निर्वाचन अधिकृत समक्ष निवेदन पेश भएपछि वडा अधिवेशनबाट छनौट भएका प्रतिनिधिले बैधानकिता पाउने या नपाउँने भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
भदौ २२ गते भएको वडा अधिवेशनमा पार्टीका एकापक्षले एकलौटी ढंगबाट सिंगो समुदायलाई नै निर्वाचनमा सहभागी नगराई अगाडी बढेपछि अधिवेशन बहिस्कार गर्दै उजुरी दिएको जिल्ला नेता राजकुमार प्रधानले बताउँनुभयो । नेपाली कांग्रेसको सोलुदुधकुण्ड नगरपालिका सभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएका सोनाम ग्याल्जेन शेर्पाले आफु निर्वाचित हुनको लागि विभिन्न प्रपन्च रचेको प्रधानको आरोप छ । पुर्वपार्टी सभापति आङगेलु शेर्पा निकट मानिने सोनाम ग्याल्जेन शेर्पाले गुटलाई हावी गराउँदै फरक धारमा रहन सक्ने सदस्यलाई प्रतिनिधि जान रोक लगाएको प्रधानले दावी गर्नुभयो ।
यता नगरकार्यपालिका सदस्य समेत रहनुभएका नेता सोनाम ग्याल्जेन शेर्पाले भने निर्वाचनबाट भागेर उजुरी दर्ता गरेको बताउँनुभयो ।
गार्माको वडा अधिवेशनलाई लक्षित गर्दै वडा नम्बर २ का निर्वाचित वडा अध्यक्ष समेत रहनुभएका नगरसभापतिका उम्मेद्वार मिङ्मार शेर्पाले कुनैपनि सदस्यलाई निशेध गरिनु राजनीतिक संस्कार विपरित हुने टिप्पनी गर्नुभयो ।
यता जिल्ला पार्टी सभापति विनोद बस्नेतले सोलुदुधकुण्ड नगरपालिका वडा नमबर ७ क्षेत्रीय प्रतिनिधि विहिन बनेको बताउँनुभयो । पार्टीमा सबैको हक अधिकार समान हुने भएकाले कसैले कसैलाई निशेध गरि अगाडी बढ्नु कांग्रेसको विधान विपरित हुनेभएकाले पुनः अधिवेशन हुनुपर्ने सभापति बस्नेतले बताउँनुभयो ।
पार्टीको आ–आफ्नो अडान कायमै हुँदा जिल्लामा निर्णय गर्न नसकिएकाले केन्द्रमा पठाइएको भन्दै अधिकृत गुरुङले चाडै निर्णय भएर आउँने बताउँनुभयो । के निर्णय हुन्छ भन्ने पत्रकारको प्रश्नमा अधिकृत गुरुङले २४ घण्टा भित्रमा वास्तवीकता बारे जानकारी आउने बताउँनुभयो ।