काठमाडौं : आज राष्ट्रिय बाल दिवस बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेसंगै हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको हाे ।
यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी, बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ दिवस मनाइने बताइएकाे छ ।
बालबालिकाको हक, हित र बाल अधिकारको संरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धिका प्रावधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता र नेपालको संविधान र कानूनले प्रत्याभूत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्वोच्च प्राथमिकताका विषयहरु हुन् ।
नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।