एजेन्सी : तालिवानले अफगानिस्तानमा छात्राहरुले पुरुष सँगसँगै पढ्न नपाउने घोषणा गरेको छ । विश्वविद्यालयमा लिंगका आधारमा विभाजित हुने र पोशाकसम्बन्धी नयाँ नियम लागू हुने तालिबानले बताएको छ ।
अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारका शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरुले पढ्न पाउने तर पुरुषसँग एउटै कक्षामा भने नपाउने संकेत गरे । पाठ्यक्रममा पनि पुनरावलोकन हुने उनले बताएका छन् । सन् १९९६ देखि २००१ सम्मको शासनको क्रममा तालिबानले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय तथा विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।
तालिबानले योपटक भने महिलाहरुलाई शिक्षा र रोजगारबाट वञ्चित नगर्ने बताएको छ । तर, अगस्ट १५ मा अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि तालिबानले सार्वजनिक स्वास्थ्यबाहेकका क्षेत्रमा कार्यरत सबै महिलाहरुलाई सुरक्षा अवस्था सुधार नभएसम्म घरमै बस्न आदेश दिएको छ ।