सोलुखुम्बु : नेकपा (एकीकृत समाजबादी) सोलुखुम्बुमा पुराना नेता गएपनि कुनैपनि तहका जनप्रतिनिधि भने गएका छैनन् । जिल्लाको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई सहित केही जनप्रतिनिधि नेकपा (एस)मा रहने आकलन गरिएपनि शनिबार सम्पन्न एमालेको १३ औँ पुर्णबैठकमा उहाँ उपस्थित भएसंगै जनप्रतिनिधिको संख्या सून्य जस्तै बनेको हो ।
यस अघि माधव नेपाल समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुदै आउनुभएका पालिका अध्यक्ष राई पुनः एमालेमा फर्कनुभएको जिल्ला अध्यक्ष बीरउदास श्रेष्ठले जानकारी दिनुभयो । निकट श्रोतका अनुसार माधव समूहमा रहनुभएका ओखलढुंगा जिल्लाका सांसद यज्ञराज सुनुवार, भर्खरै प्रदेश एकका मुख्य मन्त्री बन्नुभएका भिमार्जुन आचार्य सहितका शिर्ष नेताहरु एमालेमा रहने निर्णय गरेकाले बुद्धिकिरण राई समेत नेकपा (एस)मा नगएका हुन् ।यज्ञराज शुनुवार र बुद्धिकिरण राईको सम्बन्ध विगत देखिनै नजिक रहेको बताइन्छ ।
नेकपा एमालेको संगठनमा लामो समय रहेर काम गर्नुभएका आङङिमा लामा सहितका केही नेताहरु नेकपा (एस)मा लागेको भएपनि एमालेलाई कुनै घाटा नभएको पार्टीको दावी छ । केही माओवादीका नेताहरु समेत एमालेमा रहदा पार्टीले घाटा बेहोर्नु नपरेको जिल्ला सदस्य गोपाल विश्वकर्माले बताउँनुभयो ।
तर नेकपा (एस) का जिल्ला सचिव डिल्ली राईले भने सोलुखुम्बुमा पार्टी संगठन मजबुद्ध बन्ने दावी गर्नुभयो । जिल्लाका केही प्रभावशाली नेताहरु आफुहरु संग भएको भन्दै सचिव राईले व्यक्तिबाट असन्तुष्ट नभइ पार्टीको विधि र प्रक्रियामा थुप्रै असहमति रहदै आएकाले नेकपा (एस)मा जनलहर हुने जिकिर गर्नुभयो । शिक्षक तथा बौद्धिक वर्गका व्यक्तिहरु ओली प्रवृत्तिका कारण एमालेमा रहन नसक्ने भएकाले आफुहरु संगै रहेको उहाँको भनाई छ ।
जिल्ला सचिवालय बनाउँदा शिक्षकलाई राखेको भन्दै सामाजिक सञ्जालमा नेकपा (एस)को आलोचना समेत भएको छ । केही दिन अघि मात्रै पार्टीका अध्यक्ष माधव कुमार नेपालले शिक्षकलाई जिल्ला कमिटीमा नराखिने बताएकाले पनि जिल्ला कमिटीमा शिक्षकलाई राखिदा आलोचना भएको बताइन्छ ।