काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ आँै महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुने बताउनुभएको छ । बुधवार पत्रकारसंग कुरा गर्दै प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताउनुभएको हो ।
उहाँले काँग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरुले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपील गर्नुभयो । महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनु पर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनु पर्ने कर्तव्य नेपाली काँग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उहाँले अनुरोध गर्नुभयो ।
१८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिएपनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उहाँले बताउनुभयो ।
प्रवक्ता शर्माले १८ गतेबाट पार्टी महाधिवेशन शुरु हुँदै गर्दा कोरोना, अन्य केही जटिलता तथा क्रियाशील सदस्यताको विवरण नटुंगिएको खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताउनुभयो । यी समस्या बाहेकका जिल्लाहरुमा भने नेपाली काँग्रेसले भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया शुरु गर्ने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।