पहिरोले अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सुचारु

काठमाडौं : अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ । त्रिभवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो ।

अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिनु भयो । अविरल वर्षासँगै सो सडकखण्डमा हिजो बिहान ८ बजेतिर र आज बिहान पनि करिव साँढे ५ बजेतिर पहिरो गएको थियो । पहिरोका कारण करिव दुई घण्टा सवारी आवातजावत गर्ने काम अवरुद्ध हुँदा यात्रुहरुले सास्ती व्यहोर्नु परेको थियो ।

प्रहरी निरीक्षक थापाले अव सडक अवरुद्ध नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘बिहान साँढे ५ बजेतिर पहिरो गयो । सात बजेतिर वान वे बाटो खुलायौं । अहिले सडक पूर्ण रुपमा सूचारु भएको छ ।

अव पहिरोले असर नगर्ला ।’ सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने काम काम भईरहेको छ । पहिरो निरन्तर गईरहेका कारण सयौं सवारी साधन र त्यसभित्रका यात्रुहरुले सास्ती व्यहोरिरहनु पर्ने अवस्था आएको स्थानीयले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार