पार्क निर्माणमा सहयोग गर्न स्थानीयबासीलाई मेयर शाक्यले गरे आह्वान

काठमाडौं : महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गर्नु भएको हो ।

शनिबार बिहान मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका भित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भएपनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासो समेत गर्नु भयो ।

पर्याप्त बजेट छ, तर पार्क निर्माणका लागि स्थानीयबासीको सहयोग नहुँदा कतिपय ठाउँमा बनाउन नसकिएको मेयर शाक्यको भनाई छ । उहाँले राम्रो पार्क बनाउने र राम्रो करिडोर बनाउने काममा काँठमाडौं महानगरपालिका प्रतिवद्ध रहेको पनि दोहो¥याउनु भयो । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले भुकुटीमण्डवभित्र ठूलो प्रर्दशनी हल बनाउन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले त्यसका लागि काठमाडौं महानगरपालिकाले समाज कल्याण परिषदसँग प्रस्ताव लैजान ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो । समाज कल्याणको क्षेत्रमा काम गर्ने र परिषद मातहत रहेको भृकुटीमण्डवमा प्रर्दशनी स्थल बनाउने काममा ढिलाई गर्न नहुने पूर्व मेयर स्थापितको भनाई छ । कार्यक्रममा पूर्व मेयर स्थापितले इच्छुमती करिडोरको शुभारम्भ गर्नु भएको थियो ।

बागमती प्रदेशसभा सदस्य समेत रहनु भएका उहाँले बागमती प्रदेश सरकारको १ करोड ३८ लाख सहयोगमा निर्माण गरिएको सो करिडोरको उदघाटन गर्नु भएको हो । यता, मेयर शाक्यले उद्घाटन गर्नु भएको झिंगु इच्छुमती पार्क ३७ लाख ७० हजार लागतमा निर्माण भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार