काठमाडौं : नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार २०७७÷७८ मा चालु खाता ३३३ अर्ब ६७ करोडले घाटामा रहेको छ ।
असार मसान्तसम्म शोधनान्तर स्थिति १ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ । यता, असार मसान्तमा औसत उपभोक्ता मुद्रास्फीति ३.६०% रहेको छ । त्यस्तै, आर्थिक वर्षमा कुल वस्तु निर्यात ४४.४% ले बढेर १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा पुँजीगत ट्रान्सफर ७.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ०.२ प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड कायम भएको छ ।
त्यस्तै, २०७८ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण ९२७ अर्ब ९३ करोड र आन्तरिक ऋण ८०० अर्ब ३२ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण १७ खर्ब २८ अर्ब २५ करोड पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३६.५ प्रतिशत रहेको थियो ।