काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।
समितिले दार्चुला जिल्लाका जयसिंह धामीको तुइन तर्ने क्रममा बेपत्ता भएको घटनाबारे तत्काल कारबाही प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठले बताउनुभयो । समितिले दार्चुलाको व्यास नरपालिकाका जनतालाई आवश्यक औषधि र खाद्यान्नको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
अहिले देशमा बालिका र महिलाहरु हिंसा, हत्या र बलात्कारको शिकार भइरहेकोले यस्ता घटनालाई नियन्त्रण र गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । समितिले चाडबाड नजिकँदै गरेकोले चाडबाडमा हुने उपभोग्य सामग्रीमा अश्वभाविक मूल्यवृद्धि, जनस्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन सामग्री र कालोबजारी रोक्न पनि सरकारलाई निर्देशन दिएको सभापति श्रेष्ठले बताउनुभयो । समितिले हिंसा, बलात्कार र हत्याका घटनाहरु बढीरहेकोले यसलाई नियन्त्रण गर्न र अपराधीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।