काठमाडौं : सत्तारुढ गठबन्धनले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ ।
सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक, सचेतकहरुसहितको सोमबार सिंहदरबारमा बसेको बैठकले सभामुख सापकोटामाथि प्रमुख प्रतिपक्ष दलका नेता ओली र सोही दलका सांसदहरुले उहाँकै कार्यकक्षमा सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो ।
बैठकले अध्यक्ष ओली र उहाँका दलका सांसदहरुलाई सभामुख विरुद्धको धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएको निष्कर्ष निकाल्दै संवैधानिक मर्यादाको अवलम्बन गर्न पनि सचेत गराएको छ । प्रमुख प्रतिपक्ष दलका नेता र सांसदहरुले सभामुखविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएकाले त्यसप्रति आपत्ति जनाउँदै संवैधानिक मर्यादाको ख्याल गर्न आग्रह गरिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिनु भयो ।
बैठकपछि सत्तारुढ नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक गुरुङ, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादव, जनमोर्चाकी संसदीय दलका नेता दुर्गा पौडेल र प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधि जीवनराम श्रेष्ठले जारी गर्नु भएको संयुक्त वक्तव्यमा नेकपा (एमाले)का सांसदहरुले सभामुखको कार्यकक्षमा संसदीय मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै निन्दा र भत्सर्ना समेत गरिएको छ ।
नेकपा एमालेका सांसदहरुले गत भदौ ३ र ४ गते सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा पुगेर पार्टीको तर्फबाट कारबाही गरिएका माधव नेपालसहितका सांसदहरुमाथि कारबाही गरिएको सूचना टाँस गर्न दवाव दिएका थिए भने संसदीय दलका नेता ओलीले सभामुखले दलले गरेको कारबाही अनुसार सूचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति आक्रोश व्यक्त गर्नु भएको थियो ।