काठमाडौं : नेकपा एमाले विभाजन गरी वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ दल नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
वरिष्ठ नेता माधव नेपालसहितका नेताहरु बुधबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि दिएका हुन । पार्टी एकताका लागि पटक पटक आवाज उठाउँदा पनि सुनुवाई नभएपछि ५८ जना केन्द्रिय सदस्यहरुको उपस्थितिमा नेपाल कम्युनिष्ट पार्टी एमाले (समाजवादी) नाम गरेको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको नेता राजेन्द्रप्रसाद पाँण्डेले जानकारी दिनु भयो ।
उहाँले एमालेमा अलमल गरेर बसेका अन्य नेता, कार्यकर्ताहरुलाई नयाँ पार्टीमा आउन पनि आह्वान गर्नु भयो । नवगठित सो दलको अध्यक्ष माधवकुमार नेपाल रहनु भएको छ भने वरिष्ठ नेता झलनाथ खनाल रहनु भएको छ ।
९५ सदस्यीय केन्द्रिय समिति रहेको सो दलको निर्वाचन चिन्ह भने थप छलफल गरेर मात्रै टुंगो लगाउने निर्णय गरिएको पनि पार्टीका नेता पाण्डेले बताउनु भयो । नवगठित नेकपा एमाले (समाजवादी) पार्टीले दल दर्ताको प्रमाण पत्र निर्वाचन आयोगबाट प्राप्त भएपछि पार्टीको राष्ट्रिय भेला बोलाई आफ्ना कार्यक्रम सार्वजनिक गर्ने पनि जनाएको छ ।








