काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अनियमितता र भ्रष्टाचार नगर्न मातहतका निकायलाई कडा निर्देशन दिनुभएको छ । मंगलबार नेपाल विद्युत प्राधिकरणको ३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफूले भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलताको नीतिलाई प्राथमिकतामा राखेको भन्दै अनियमितता र भ्रष्टाचार नगर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।
कसैले भ्रष्टाचार गरेमा कठोर कदम चाल्ने उहाँको चेतावनी छ । मन्त्री भुसालले किसानलाई सिँचाईमा प्रयोग हुने विद्युत सहुलियत दरमा उपलब्ध गराउने पनि आफ्नो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा वर्षायाममा विद्युत खेर जान नदिन र खपत बढाउनका लागि वर्षायाम र सुख्खा यामको फरक–फरक विद्युत महशुल निर्धारण गर्ने निर्णय भइसकेको पनि जानकारी दिनुभयो ।
उहाँले विद्युत प्राधिकरणले ग्राहकहरुलाई गुणस्तरीय सेवा उपलब्ध गराउन धेरै मेहनत गर्नुपर्ने र गुनासोहरुको तत्काल सम्बोधन गर्न संयन्त्र बनाउने तथा वितरण संरचनाको स्तरोन्नति एवम् विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।