काठमाडौं : नेकपा माओवादी केन्द्रमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ । शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गर्नु भएको हो ।
भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।
केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा जातीयरक्षेत्रीय मोर्चाको कामलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गरिएको हो । पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तरगत आगामी पुसको ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो, ‘पार्टीको सांगठानिक सुदृढीकरण अभियान अन्तरगत पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । केन्द्रिय समितिले त्यसबारे आवश्यक निर्णय लिनेछ ।’बैठकमा अध्यक्ष दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमा प्रतिगमनप्रतिको खतरा अझै टरिनसकेको भन्दै सचेत रहन पार्टी पंक्तिलाई आह्वान गरिएको छ ।
संविधानको कार्यान्वयन गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्ट क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरुको बीचको सहकार्यलाई निरतरता दिनुपर्नेमा पनि अध्यक्ष दाहालको प्रतिवेदनमा जोड दिइएको प्रवक्ता श्रेष्ठले बताउनु भयो । अध्यक्ष दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा प्रस्तावमाथि छलफल गर्न आठ वटा समूह निर्माण गरी छलफल सुरु गरिएको पनि माओवादी केन्द्रले जनाएको छ ।